ओली-प्रचण्ड फेरि मिल्नसक्ने

काठमाडौं, २२ जेठ । एक महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकैदिन दुईपटक भेटे । दुवैबीच निकटता बढेको सन्देश गयो त्यतिबेला । यसपछि पनि ओली र प्रचण्डबीच कुराकानी बाक्लिन थालेको छ ।
एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच भेटघाट बाक्लो बन्दै गएको छ । यसबीच काँग्रेससँग पनि एमालेको सम्बन्ध केही चिसिदै गयो । विशेषगरी गभर्नर नियुक्तिलगायतका विषयमा सम्बन्ध राम्रो भएन ।
अहिले अदालतबाट अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा छानबिन हुने फैसला आएपछि माओवादी आत्तिएको छ । उसका लागि फेरि एमाले नै सहारा हुने अवस्था बनेको छ । यसले पनि दुवै दल निकट हुने सम्भावना बढेको छ ।
पछिल्लो समय एमालेले आफ्नो प्रभावमा रहेका अस्त्रहरु प्रयोग गरी काँग्रेसका प्रभावशाली नेताहरुमाथि प्रहार गरेको छ । मोहनबहादुर बस्नेतमाथि अख्तियारले मुद्दा हालेको छ । रमेश लेखक भिजिट भीसा प्रकरणमा मुछिएका छन् । रोचक त यो छ कि एमालेका कुनैपनि मन्त्री र नेता समस्यामा पारिएका छैनन् । यतिसम्मकी सहकारी ठगी प्रकरणमा मुछिएकाहरुले पनि उन्मुक्ति पाएका छन् ।
काँग्रेस डुब्दै गएको छ एमालेसँग मिल्दा । ओलीले विस्तारै देउवालाई अप्ठ्यारोमा पारेका छन् । प्रचण्डलाई उनले मिल्न वाध्य बनाउँदै लगेका छन् ।