गृहमन्त्री भएका किन विवादमा पर्छन्

समाचार विश्लेषण । गृहमन्त्री बन्न नेताहरु तछाडमछाड गर्छन् । गृह मन्त्रालय मातहतमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् । ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग पनि गृह अन्तर्गत छन् । आन्तरिक सुरक्षाको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले पनि यो सबैभन्दा शक्तिशाली मन्त्रालय मानिन्छ ।
सुरक्षाका लागि भनी खर्च गर्न पाइने भएकाले पनि गृहलाई मालदार मन्त्रालय मानिन्छ । शक्तिको भरपूर अभ्यास गर्छन् गृहमन्त्रीले । सीडीओ, प्रहरी, सशस्त्र प्रहरी, गृह अन्तर्गतका निकायमा हुने सरुवा बढुवामा ठूलो चलखेल हुने गरेको छ । यसकारण पनि गृहमन्त्री भएकाहरुको सञ्जाल र शक्ति मतबुत हुन्छ ।
बहुदल आएपछि गृहमन्त्री बनेका शेरबहादुर देउवा र केपी शर्मा ओली प्रधानमन्त्री मात्र बनेनन् पार्टी नेतृत्वमा पुगे । देउवा २०४८ को चुनावपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको गृहमन्त्री थिए । ओली २०५१ सालमा एमालेको नौ महिने सरकारका गृहमन्त्री थिए । त्यहीं मन्त्रालय सम्हालेपछि उनीहरुले भरपूर शक्ति आर्जन गरेका थिए ।
गृह मन्त्री भएकामध्ये वामदेव गौतम सधै शक्तिमा रहे । गृहमन्त्री भइसकेका भीम रावल ओलीलाई चुनौती दिन सक्ने भए ।
कृष्णप्रसाद सिटौला पनि गृहमन्त्री भइसकेका छन् । उनी देउवाविरुद्ध पार्टी सभापतिको प्रतिष्पर्धी बनेका थिए । सिटौला अझै शक्तिशाली मानिन्छन् काँग्रेसको राजनीतिमा ।
गृहमन्त्री बनेका खुमबहादुर खड्का काँग्रेस राजनीतिमा निकै शक्तिशाली रहे । उनको देहावसान भइसकेको छ । तर, काँग्रेसीहरु खड्काको योगदान सम्झन्छन् । उनी पछि अख्तियारको मुद्दा लागेर जेल गए ।
विमलेन्द्र निधि पनि गृहमन्त्री भएका नेता हुन् । उनी काँग्रेस सभापतिको दाबेदार मानिन्छन् ।
एमाले नेता तथा वर्तमान अर्थमन्त्री विष्णु पौडेल पनि गृहमन्त्री भइसके । उनी एमालेको भावी नेतृत्वको दाबेदार हुन् । रामबहादुर थापा बादल पनि गृहमन्त्री भए । उनी माओवादीबाट एमालेमा प्रवेश गरी शक्तिशाली नेता नै मानिन्छन् ।
माओवादीमा नारायणकाजी श्रेष्ठ, जर्नादन शर्मा, जस्ता नेता गृहमन्त्री भइसके । उनीहरु शक्तिशाली मानिन्छन् ।
गृहमन्त्री भएकाहरु शक्तिशाली र भविष्यका प्रधानमन्त्रीका दाबेदार मानिन्छन् । तर, उनीहरु प्रायः विवादमा आउँछन् । प्रहरी सरुवा बढुवा देखि अध्यागमनमा हुने गतिविधिका कारण पनि विवादमा आउने गरेका छन् ।
पछिल्लो समय गृहमन्त्री रमेश लेखक विवादमा परे भिजिट भीसामा हुने असुली प्रकरणमा । विगतमा गृहमन्त्री बनेका विजय गच्छेदार पनि मुद्दा खेप्न वाध्य भए । नारायणकाजी श्रेष्ठ पनि विवादमुक्त भएनन् । यसरी गृहमन्त्री बनेकाहरु समस्यामा पनि पर्ने गरेका छन् ।-File Photo