१७ जेष्ठ २०८२, शुक्रबार | May 30, 2025

बाजुरामा भारतको सहयोगमा निर्माण हुने भयो कृषि भवन


249
Shares

काठमाडौं, १५ जेठ । बाजुरामा भारतको सहयोगमा कृषि भवन निर्माण हुने भएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रको लागि कृषि प्रर्वद्धन केन्द्रको भवन निर्माणका लागि शिलान्यास भएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरे । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र समुदायका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको तीन करोड १४ लाख आर्थिक सहयोगमा भवन निर्माण हुने जनाइएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग वितरण डेस्क, रेकर्ड रुम र अन्य सहयोगी संरचना सहितको अन्न भण्डारण र वितरणका लागि आवश्यक भवनको निर्माणमा उपयोग गरिने उल्लेख छ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामार्फत कार्यान्वयन गरिनेछ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्षस राजनीतिक प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । निर्माण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरुको उचित सङ्कलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया