खुशीप्रसादले आलम दाजुभाईलाई दिलाएको खुशी

काठमाडौं, १४ जेठ । उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलाशले ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका मोहम्मद अफताव आलमका दाजुभाईसहित ४ जनालाई सफाई दियो ।
नेपालमा न्याय सम्पादनमा पछिल्लो समय एकपछि अर्को विवाद र आशंका जन्मिइरहँदा यो निर्णय आयो । यसले सामाजिक सञ्जालमा सर्वत्र न्यायालयप्रति वितृष्णा जगाउने पोष्टहरु भइरहेका छन् ।
फैसलामा मृत्यु भएको भनिएकाहरुको हत्या भएको कुनै प्रमाण फेला नपरेको उल्लेख गरेको छ । जबकि भट्टामा खरानी बनाएर शवहरु निमिट्यान्न पारेको तथ्यप्रमाण प्रत्यक्षदर्शीबाट आइसकेको छ । जिल्लाको आदेश उच्चले उल्टाउने आदेश गणतन्त्र दिवसको ठिक अघिल्लो दिन भएको छ ।
देशमा १५ जेठबाट नयाँ परिस्थिति बनेर यो घटना सामसुम हुने आँकलन पनि गरिएको देखिदैछ । अर्कोतर्फ, न्यायाधीशहरुको पृष्ठभूमि पनि राजनीतिक दलसँग आवद्ध भएर नियुक्ति पाएको देखिन्छ ।
न्यायाधीश खुशीराम थारु विशेष अदालतमा रहँदा विजयकुमार गच्छेदारविरुद्धको भ्रष्टाचारको मुद्दामा सफाई दिनेमा पर्छन् । कैलालीका खुशीराम काँग्रेससँग आवद्ध थिए । कैलालीबाट आरजु देउवाले चुनाव लडिसकेकी छिन् ।
यता आलम दाजुभाई छुटेपछि २०६४ सालमा ईट्टा भट्टामा जलाइएर मारिएकाका परिवार र घटनाका प्रत्यक्षदर्शी त्रसित भएका छन् । आलम रिहा भएपछि उनको समर्थक ठूलो संख्यामा पुगेको देखियो ।
दाजु अफताब आलम नख्खु कारागारबाट र भाई महताब आलम रौतहट जिल्ला कारागारबाट छुटेका छन् । उनीहरु विजेताको शैलीमा निस्किए ।