पाकिस्तानको आणविक हतियार आतंकवादी समूहको हातमा पुग्ने खतरा

एजेन्सी, २ जेठ । पाकिस्तान विश्वको एकमात्र मुस्लिम राष्ट्र हो जस्को साथमा आणविक हतियार छ । त्यसो त पाकिस्तानभन्दा विकसित र धनी धेरै मुस्लिम राष्ट्र थिए तर उनीहरुले आणविक हतियार प्राप्त गर्न सकेका छैनन् । तर, पाकिस्तानले नै किन पायो ?
जब भारतले आणविक हतियार बनायो तब पाकिस्तानलाई आणविक हतियार सम्पन्न बनाउन केही शक्तिराष्ट्र लागे । भारतलाई सन्तुलनमा राख्न यस्तो रणनीति चालिएको थियो । पाकिस्तानलाई आणविक अस्त्र सम्पन्न बनाउन मुस्लिम राष्ट्र साउदी अरबले पनि आर्थिक सहयोग गरेको थियो ।
पाकिस्तानले आणविक अस्त्र प्राप्त गरेपछि आशंकहरु कायमै छन् । पाकिस्तानमा आतंकवादी घोषणा गरेका समूहका नाइकेहरु रहने गरेका छन् । ओसामा बिन लादेन पाकिस्तानको अवोटावादमा लुकेर बसेको पत्ता लागेको थियो । अमेरिकी कारबाहीमा उनी मारिए ।
संयुक्त राष्ट्रसंघलगायत विभिन्न देशले आतंकवादी घोषणा गरेका समूहका नाइकेहरु अझै पाकिस्तानमा छन् । उग्रवादी समूहहरु पनि त्यहाँ सक्रिय छन् । उनीहरुको हातमा आणविक हतियार पुगेमा विश्वकै लागि खतरा बन्न सक्छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानको आणविक हतियार असुरक्षित रहेकाले निगरानीमा राख्नुपर्ने अभिव्यक्ति दिएका छन् । उनले अन्तर्राष्ट्रिय संस्था आइएइएको निगरानीमा पाकिस्तानको आणविक हतियार राख्नुपर्ने बोले ।
लस्कर ई तोइबा, जैसे ई मोहम्मद, इन्डियन मुजाहिद्दिन जस्ता आतंकवादी संगठनको अखडा पाकिस्तानमा रहेको खुलिसकेको छ । त्यस्ता संगठनका नेताहरु पाकिस्तानमा मारिएको या अन्त्येष्टिमा सहभागी भएको उजागर भएको छ । त्यस्ता संगठनले आणविक बममा पहुँच बनाएमा विश्वकै लागि खतरा बन्न सक्छ ।