सर्लाहीका काँग्रेस सांसद वीरेन्द्र सिंहको गैरकानूनी धन्दा, चुरे दोहन देखि गुण्डागर्दीसम्म (भिडियोसहित)

काठमाडौं, १ जेठ । देशमा राजनीतिक आवरणमा गैरकानूनी धन्दा र गुण्डागर्दी फष्टाइरहेको छ । त्यसमाथि पनि मधेश प्रदेशको सर्लाही जिल्लामा त यस्ता गतिविधि डरलाग्दो तरिकाले बढिरहेको छ ।
सर्लाही नेपाली काँग्रेसका उपसभापति एवं सांसद वीरेन्द्र सिंह नै गैरकानूनी धन्दामा लागेको तथ्य फेला परेको छ । उनी चुरे दोहन गरी अवैध ढुंगागिट्टी निकाल्ने र त्यसमा अवरोध गर्नेलाई गुण्डागर्दी गरी तह लगाउने गर्दै आएका छन् ।
काँग्रेसका एकजना प्रभावशाली नेताको नाम भजाएर वीरेन्द्र सिंहले गैरकानूनी धन्दालाई बढावा दिएका छन् ।
सर्लाहीमा उनका दाजु सुरेन्द्र सिंह काँग्रेस जिल्लाको सभापति छन् । उनी पनि गैरकानूनी धन्दाका साझेदार हुन् । जिल्लाको धनकौलमा रहेको बसबरियास्थित क्रसरले अवैध रुपमा ढुंगागिट्टीको उत्खनन गर्दै आएको छ । उत्खनन गरिएका ढुंगागिट्टी गैरकानूनी तरिकाले विक्रीवितरण हुँदै आएको तथ्य फेला परेको छ ।
क्रसर उद्दोगले सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् । धनकौल कोठियारका स्थानीय बासिन्दा आक्रोशित छन् । त्यहाँको विद्यालय पनि बन्द भएको छ । तर, शक्तिको बलमा सिंह दाजुभाईले क्रसर चलाउँदै आएका छन् । विरोध गर्नेलाई ज्यान मार्ने धम्की दिने समूह नै सक्रिय बनाइएको छ । यतिसम्मकी टिपरले किचेर ज्यान लिने धम्की दिएको स्थानीय नै बताउँछन् ।
यसबारे तथ्यसहित भिडियो सामाग्री बनाएर प्रशारण गरेको भन्दै पत्रकार मनोज मानवलाई सिंह दाजुभाईले धम्की समेत दिएका छन् । बाहुबलीमा शक्ति आर्जन गरेका सिंह दाजुभाईको गतिविधिप्रति काँग्रेसका मधेश प्रदेश र सर्लाहीका नेताहरुले गम्भीर चासो राखेका छन् ।