३० बैशाख २०८२, मंगलबार | May 14, 2025

आतंकवादीको अखडाले धराशायी बन्दै पाकिस्तान


415
Shares

एजेन्सी, ३० वैशाख । आतंकवादविरुद्ध चलाएको अपरेशन सिन्दूरले पाकिस्तानमा रहेका पाकिस्तानी अखडा उजाडिदिएको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चेतावनी समेत दिए । उनले पाकिस्तानलाई आफू बच्ने हो भने आतंककारीको पूर्वाधार सिध्याउनुपर्ने समेत बताए । भारतले अपरेशन सिन्दूरमा एक सयभन्दा बढी आतंककारी मारिएको तथ्यांक सार्वजनिक गरेको छ । जसमध्ये पाँचजना खुंखार आतंकवादी छन् ।

आतंकवादी संगठन लस्कर ई तोइबा, जैसे ई मोहम्मद जस्ता कैयन संगठनहरु पाकिस्तानमा अखडा बनाएर सक्रिय छन् । कतिपयलाई पाकिस्तानले संरक्षण गरेको विषय उठ्ने गरेको छ । भारतको हमलामा मारिएका कतिपय पाकिस्तानी आतंकवादीको अन्त्येष्टिमा उच्च सैनिक अधिकारी नै देखिए । यो तस्बिरका कारण मोदीले पाकिस्तानले आतंकवादीलाई पालनपोषण गरेको सबुत मिलेको टिप्पणी गरे ।

विगतमा अल कायदा नेता ओसामा बिन लादेन सर्वाधिक खोजी हुँदा २०११ मा पाकिस्तानको अबोटावादमा रहेको पत्ता लगाएर अमेरिकाले आक्रमण गरी सिध्याइदियो । यो घटनाले पाकिस्तानलाई ठूलो धक्का लाग्यो । आतंकवादीलाई पाकिस्तानले आश्रय दिएको पुष्टि भयो ।

नेपालबाट १९९९ मा विमान अपहरण गर्ने र बार्गेनिङ गरी रिहा भएका पाँचजना आतंकवादी नै पाकिस्तानमा रहेको तथ्य खुलिसकेको छ । त्यसमध्ये केही मारिएका छन् । पाकिस्तानले त्यस्ता आतंकवादीलाई संरक्षण नै गरेको छ ।

पाकिस्तान एकातर्फ आतंकवादीलाई संरक्षण गरिरहेको छ । अर्कोतर्फ, आतंकवादीको तारोमा ऊ आफै छ । विगतमा तालिवानलाई पाकिस्तानले तालिम दिएको खुलेको छ । तर, तालिवानसँग पाकिस्तानको टकराव बढेको छ । बलुचिस्तानमा पाकिस्तानले आतंकवादीको सामना गर्नुपरेको छ । कट्टरपन्थी इस्लामिक संगठनहरुले पनि पाकिस्तानलाई चुनौती दिइरहेका छन् ।

पाकिस्तानसँग आणविक अस्त्र छ । त्यस्तो अस्त्र आतंकवादी र कट्टरपन्थी शक्तिको हातमा पुगेमा सँसारका लागि खतरा बन्न सक्छ ।

प्रतिक्रिया