५ लाख विद्यार्थीमध्ये को कहाँ जालान् ?

काठमाडौं, २० वैशाख । कक्षा १२ मा ५ लाख ११ हजार विद्यार्थी सहभागी हुने तथ्यांक छ । आइतबारदेखि परीक्षामा सहभागी हुने यो संख्या निकै महत्वपूर्ण छ । कक्षा १२ पछि विदेशमा अध्ययनका लागि जान नो अब्जेक्शन सर्टिफिकेट अर्थात् एनओसी दिने प्रावधान छ । जसका कारण ठूलो संख्यामा विद्यार्थी विदेशिने गरेका छन् ।
दैनिक हजारौं विद्यार्थी अध्ययनका लागि भन्दै विदेशिने गरेका छन् । यो फेशन जस्तै भइसकेको छ । अध्ययनका लागि जाने विद्यार्थीमध्ये अधिकांश रोजगारीमा केन्द्रित हुन्छन् । देशमा आकर्षक रोजगारी नमिल्दा र समस्याहरु देखेर विद्यार्थीको रुपमा विदेश पलायन चलिरहेको छ ।
हरेक वर्ष ५ लाखभन्दा बढी कक्षा १२ को परीक्षा दिनेमध्ये उत्तीर्ण या अनुत्तीर्ण जे भएपनि कतिपय रोजगारीका लागि खाडी मुलुक, मलेशियालगायत देश पनि जाने गर्छन् । कतिपयले देशमै भविष्य देख्छन् । तर, यो संख्या कम हुँदै गएको छ ।
देशमा राजनीतिक गतिरोध, आन्दोलनहरुका कारण पनि विद्यार्थी स्वदेशमा बस्न चाहिरहेका छैनन् । त्यसो त कक्षा १२ को परीक्षा नै सर्न पुग्यो शिक्षक आन्दोलनले । १० दिनका लागि पछि सरेको परीक्षाले विद्यार्थीहरु असन्तुष्ट भएका छन् ।