गेटा मेडिकल कलेजको समान खरिद प्रकरणले खैलाबैला

काठमाडौं, १८ वैशाख । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा माफियाको चलखेल बढ्न थालेको छ । उपकरण खरिददेखि बजेट व्यवस्थापनसम्म माफिया शैलीमा विवादास्पद व्यापारीहरूको चलखेल हावी भएको हो ।
रणनीतिक तरिकाले कर्मचारीलाई धम्क्याउँदै टेन्डर हात पार्ने गतिविधि बढ्न थालेको छ । यसमा शक्तिको चरम दुरुपयोग भइरहेको छ ।
स्वास्थ्य उपकरण खरिदमा धम्की दिने गिरोहका कारण गुणस्तरमा प्रश्न उठ्न थालेको छ । गलत प्रवृत्तिले गलत नतिजा आइरहेको छ । यस्तै गेटा मेडिकल कलेजको खरिद प्रकरण पनि रहेको छ ।
गेटा मेडिकल कलेजमा भएको डिजिटल रेडियोग्राफी प्रणालीसम्बन्धी खरिद प्रकरणमा दशौं लाखको चलखेल भएको छ । २०७९ सालमा १ करोड ६० लाख रुपैयाँको लागतमा उक्त प्रणाली खरिद हुँदा मेडिक्विप्स नेपाल प्रालिका निर्देशक केशव पाण्डेको प्रत्यक्ष संलग्नता रहेको पत्ता लागेको छ ।
उपकरण खरिद अघि नै बायो मेडिकल इन्जिनियर हरेन्द्र चटौतसँग मिलेर स्पेसिफिकेसन तयार गराएका थिए । कस्लाई ठेक्का पार्ने अग्रिम तयारी थियो । फेयर ट्रेड प्रालिलाई सहजै टेन्डर जित्ने बाटो खोले । फेयर ट्रेड प्रालिका सञ्चालक मिन अग्रवालसँग पाण्डेको विशेष सम्बन्ध थियो । उनीहरुबीच योजनावद्ध तरिकाले काम भयो ।
मेडिक्विप्स नेपाल प्रालिका निर्देशक पाण्डेले टेन्डर प्रक्रिया प्रभावित पार्ने रणनीति अनुसार काम गरे । गेटा मेडिकल कलेजको डीआर सिस्टम खरिदमा पनि त्यस्तै भयो । जुन जुन अस्पतालहरूमा टेन्डर पाएनन् त्यहाँका कर्मचारीहरूलाई त्रसित पार्ने गतिविधि चल्यो ।