भारतद्वारा सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

काठमाडौं, १२ वैशाख । भारतले सिकल सेल र थालेसिमिया खोप सहयोग हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिकल सेल रोग र थालेसिमिया विरुद्धको खोपको पहिलो खेप शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारको अनुरोधमा भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्ने योजना अन्तर्गत पहिलो खेपको हस्तान्तरण भएको हो ।
पहिलो खेपको खोपरऔषधिमा इन्फ्लुएन्जा खोप ३१०० युनिट, साल्मोनेला खोप १५५० युनिट, मेनिङ्गोकोक्कस खोप ३१०० युनिट, हाइमोफिलस इन्फ्लुएन्जा खोप ४६४० युनिट र स्ट्रेप्टोकोक्कस निमोनिया खोप ४६४० युनिट समावेश रहेका छन् ।
भारतबाट भएको यस अत्यावश्यक योगदानले यस्ता वंशाणुगत रक्त विकारहरू जसले प्रभावित व्यक्ति तथा परिवारका लागि उल्लेखनीय स्वास्थ्य चुनौतीहरू निम्त्याएका छन् त्यसलाई सम्बोधन गर्ने नेपालको प्रयासलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख छ । यी खोपहरूको प्रावधानले दुई राष्ट्रहरूबीच विशेष गरी महत्त्वपूर्ण स्वास्थ्य सेवा क्षेत्रमा रहेको बलियो र दिगो साझेदारीलाई थप बढावा दिने अपेक्षा गरिएको छ ।
खोपहरू ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले यी खोपहरूले जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको वर्णन गर्दै भारतको उदार सहायताको लागि कृतज्ञता व्यक्त गरे । उनले भारतसँगको लामो समयदेखिको सहकार्य र यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमा गरेको योगदानको प्रशंशा गरे ।
हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले खोपहरू नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गरे । उनले भारत र नेपालबीचको गहिरो मित्रतालाई प्रकाश पार्नुका साथै पारस्परिक हितका क्षेत्रहरूमा सहयोग प्रदान गर्ने भारतको तत्परतालाई समेत थप प्रकाश पारे ।