लीलाम बढाबढको शैलीमा गभर्नर नियुक्ति गर्न खोज्दा ढिलाई

काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति झन् ढिलो हुँदै गएको छ । गभर्नर पद नै लिलामीमा राखिएको चर्चाबीच नियुक्तिमा ढिलाई भएको हो । बिचौलियाले गभर्नरका लागि ठूलो धनराशीको प्रस्ताव राखेर शक्तिकेन्द्रमा सक्रियता बढाइरहेका छन् ।
कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएकाले समयमा गभर्नर नियुक्त हुन नसकेको सार्वजनिक रुपमै बोले । राष्ट्र बैकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले गभर्नर नियुक्तिमा पैसाको ठूलो चलखेल रहेको सुन्नमा आएको भनिसके ।
महाप्रसाद अधिकारी गत चैत २२ गते शुक्रबार आफ्नो ५ वर्षीय कार्यकाल सकेर बिदा भए । उनी विदा भएपछि डेपुटी गभर्नर रहेका निलम ढुंगाना र गुणाखर भट्टले आ–आफ्नै दावी पेश गरेका छन् । अहिले निलम ढुंगाना निमित्त गभर्नर भएकी छिन् । उता भट्टले पनि कांग्रेस पार्टीभित्र आफ्नो पहुँच बढाएका छन् । विनोद चौधरी आफ्नो अपराध छोप्न ज्ञानेन्द्र ढुंगाना बोकेर हिडेका छन् ।
गभर्नर नियुक्तिको मुखैमा सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गत २७ फागुनमा सरकारले मागदण्ड संशोधन गर्दै अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्तीको मापदण्ड संशोधन गर्दै ६५ वर्षको उमेहद खारेज गरेको थियो ।
मापदण्डमा पदाधिकारीको लागि ३० वर्ष उमेर पुरा भई ६५ वर्ष ननाघेको र सदस्यको हकमा ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था थियो । उक्त उमेरहद सम्बन्धी व्यवस्था खारेज गरेसँगै त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । अधिवक्ताद्धय विशाल थापा र प्रतिभा उप्रेतीले गत शुक्रबार नै सर्वोच्चमा रिट निवेदन दिएपनि आइतबार मात्रै दर्ता भएको थियो ।
मापदण्ड खारेजीमा ठूलै स्वार्थ गाँसिएको छ । विभिन्न व्यापारिक समूह र बिचौलियाहरू आफुनिकट व्यक्तिलाई गभर्नर बनाउन दौडधूपमा लागेको बेला मापदण्ड नै परिवर्तन भएको थियो ।
राष्ट्र बैंकको गभर्नरको लागि दौडमा रहेका पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री र डा। रविन्द्र पाण्डे दुवै ६५ वर्ष नाघिसकेका व्यक्ति हुन् । उनीहरुलाई रोक्न मापदण्ड नै फेरबदलको खेल भएको बुझिएको छ । गभर्नरका लागि ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, नीलम ढुंगाना र डा। प्रकाश श्रेष्ठ दौडमा छन् । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेभित्र गभर्नर नियुक्तिमा सक्षम व्यक्तिलाई ल्याउन तिव्र दबाव छ । उता विचौलियाका मास्टरमाइण्ड रहेका दीपक भट्टले पनि व्यापारी अनुकुलको गभर्नर नियुक्तिका लागि चलखेल गरिरहका छन् ।
गभर्नर सिफारिस गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा। विश्व पौडेल सदस्य रहेको सिफारिस समिति बनेको छ । सत्तारुढ प्रमुख दलका शीर्ष नेताबीच राष्ट्र बैंक भित्रैबाट गभर्नर बनाउने कुरामा सैद्धान्तिक सहमति बनिसकेको भएपनि त्यो सार्वजनिक भएको छैन ।