दुर्गा प्रसाईँलाई काठमाडौंसम्म यसरी ल्याइयो

काठमाडौं, २९ चैत्र । राजावादीको तीनकुनेमा १५ चैत्रमा भएको आन्दोलनका कमाण्डर थिए दुर्गा प्रसाईँ । हिंसात्मक भएको उक्त आन्दोलनपछि प्रसाईँ प्रहरीको खोजीमा परे । उनी तीनकुने घटनालगत्तै इमाडोलमा चिनेजानेका व्यक्तिको घरमा पुगेका थिए । जहाँ केही खानेकुरा खाएर चापागाउँसम्म पुगे ।
उक्त स्थानबाट फर्किएर पुनः बनेपाको बाटो हुँदै झापा पुगेका थिए । झापामा बीएण्डसी अस्पतालमा उनको गाडी रोकिएको थियो । तर, प्रसाईँ त्यहाँबाट सीमापारी गए ।
प्रहरी स्रोतका अनुसार प्रसाईँ लखनऊबाट दिल्ली र राजस्थानसम्म पुगेका थिए । प्रयागराज पनि पुगे । विभिन्न व्यक्तिलाई भेटे । त्यहाँबाट आसाम फर्किएर चिनेजानेका व्यक्तिको घरमा पुगे ।
नेपालमा आफ्ना समर्थक र शुभेच्छुकसँग कुराकानी गर्थे । आसाममा उनले त्यहाँको प्रहरीसँग गिरफ्तारी दिने निर्णय लिए । यो विषय निकै अनौपचारिक बन्यो ।
भारतको प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी दुर्गा प्रसाईँलाई झापा प्रवेश गराइएको थियो । तर, प्रहरीले उनी झापामा पक्राउ परेको सार्वजनिक गर्यो ।
प्रहरीले झापाबाट काठमाडौं ल्याउँदा उनको हातमा हथगडी लगाइएको थियो । उनको साथमा थिए झापाका दिपक खड्का । दुवैलाई तीनकुने क्षेत्रको आगजनी तोडफोडमा संलग्न भएको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट थप १२ दिनको म्यान थप्न अनुमति लिएको प्रहरीले जनाएको छ ।