३० चैत्र २०८१, आइतबार | April 13, 2025

महिलाको प्याडमा भ्रष्टाचार गर्नेमाथि मुद्दा दायर


664
Shares

काठमाडौं, २७ चैत्र । महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडमा समेत भ्रष्टाचार भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया