मोदी छिमेकमा बढी केन्द्रित

एजेन्सी, २४ चैत्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेक राष्ट्रसँगको सम्बन्धमा बढी केन्द्रित हुन थालेका छन् । उनले बिमस्टेक सम्मेलनमा छिमेकका नेताहरुसँग महत्वपूर्ण भेट गरे । सम्मेलनका दौरान प्रधानमन्त्री केपी शर्मा ओली, बँगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, भुटानका प्रधानमन्त्रीलगायतसँग भेट गरे ।
मोदीले बँगलादेशका नेता युनुसलाई सम्बन्ध बिगार्ने गतिविधि नगर्न भने । उनले ओलीसँग एक्लाएक्लै आधा घन्टा बढी भेटेर महत्वपूर्ण सन्देश दिए । बिमस्टेकबाट फर्किएलगत्तै मोदी श्रीलंका गए ।
श्रीलंकामा ऊर्जासम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ मोदीको भ्रमणमा । तामिल बाहुल्य क्षेत्रमा ऊर्जा प्लान्ट बन्ने तय भएको छ । उनले तामिल नेताहरुसँग पनि भेटे ।
अमेरिका भ्रमणमा जाँदा मोदीतर्फ देखाउँदै डोनाल्ड ट्रम्पले बँगलादेशको समस्या समाधानमा मोदी लागिपर्ने बताएका थिए । त्यसपछि नयाँ घटना विकास भएको छ ।
दक्षिण एशियामा चीनको प्रभाव बढेपछि भारतसँग मिलेर अमेरिकाले सक्रियता बढाएको देखिन्छ । विशेषगरी भारतकै भर परेर अमेरिकाले यहाँको नीति प्रभावशाली बनाउन खोजेको छ । मोदीले पनि यस क्षेत्रको भ्रमण गरेर सक्रियता बढाइसकेका छन् ।