वकिलको चुनावमा पैसाको खोलो

काठमाडौं, १७ चैत्र । वकिलहरुलाई चुनाव लागेको छ । नेपाल बार एशोशिएसनको चुनाव लागिरहँदा जताततै पैसाकै कुरा देखिएको छ । यतिसम्मकी अध्यक्षका उम्मेदवारबीचको बहसमा समेत पैसानै खोजिएको छ ।
योङ लयर्स एशोशिएसन नेपालले आयोजना गरेको आइतबारको प्रसिडेन्टल डिबेटमा सभापतिका उम्मेदवारहरुसँग दाम माग्यो आयोजकले । अध्यक्षका उम्मेदवारहरु डा. विजय मिश्र र रमण श्रेष्ठले मात्र रकम दिए । उनीहरु बसहमा सहभागी पनि भए । तर, अन्य उम्मेदवारहरु आशिष पौडेल, राजु कैती र उज्ववल घिमिरेले रकम दिएनन् । उनीहरुलाई सहभागी पनि गराइएन ।
अध्यक्षका उम्मेदवार आशिष पौडेलले आफूसँग ५० हजार मागिएको खुलाएका छन् । न्यूनतम ५० हजार मागिएको विषय उनले सार्वजनिक गरेका छन् ।
वकिलहरु चुनाव प्रचारका क्रममा पनि पैसाको खोलो नै बगाइरहेका छन् । बार अध्यक्ष भएमा न्यायाधीश बनाउने क्षमता राख्ने भएकाले पनि साम, दाम र भेदको सबै नीतिहरु चल्ने गरेको छ । विगतमा अध्यक्ष भइसकेका एकजना वकिलले बारको चुनावमा करोडौं खर्च हुने गरेको अनुभव सुनाए ।