१८ चैत्र २०८१, मंगलबार | April 1, 2025

गोदावरी खोलामा गैरकानूनी पानी विक्री प्रकरणको समाचारको तरंग


5.5k
Shares

ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिकाको वडा नं ६ तर्फबाट गोदावरी खोलाको पानी गैरकानूनी रुपमा ट्याँकरमा भरेर विक्री गरेको तथ्य प्रकाशित भएपछि तरंग आएको छ । नेपालीपेनले यसमा संलग्न र संरक्षण गर्नेहरुबारे खुलासा गरेपछि तरंग आएको हो ।

वर्षौं देखि पानी विक्री गर्दै आएको भन्दै वडाध्यक्ष धर्म महर्जनले आफ्नो कार्यकालमा दर्ता नभएको बताए । तर, गैरकानूनी रुपमा पानी विक्री भइरहँदा के हेरेर बसेको भनी नेपाली पेनले सोध्दा उनले प्रष्ट जवाफ दिन सकेनन् ।

२०६८ मा पानी विक्री गर्न खोज्दा नै आफूले विरोध गरेको उनको भनाई थियो । तर, वडाध्यक्ष भएपछि गैरकानूनी रुपमा पानी विक्रीवितरण गर्नेमाथि कारबाही प्रक्रिया बढाउने हिम्मत महर्जनले गर्न सकेनन् । पानी विक्री वितरण गर्नेमा माओवादी कार्यकर्ता समेत छन् । वडाध्यक्ष धर्म महर्जन माओवादीबाट वडाध्यक्ष जितेका हुन् ।

रोचक त यो छ कि महर्जन वडाभरी ढल हाल्नमै केन्द्रित छन् । ढल हाल्ने क्रममा जताततै बाटो खनिएको छ । गोदावरी खोलामा पानी सिधै ट्याँकरमा हालेर बेच्ने गरेकोभन्दा केही माथि गोबर र गोमुत्र सिधै खोलामा मिसाइएको छ । त्यसमा पनि कुनै कारबाही प्रक्रिया चालिएको छैन ।

अर्कोतर्फ, सिद्धिपुरबाट विष्णुडोल जाने सडकखण्डमा ढल हाल्ने क्रम वर्षौ देखि चलिरहेको छ । तर, उनको कार्यकाल सकिंदा पनि ढल हाल्ने क्रम नसकिने निश्चित भएको छ । जसका कारण हजारौं जनताले वर्षौंदेखि सास्ती पाएका छन् । सडक पुनःनिर्माणको प्रयास गर्दा धर्मले ढल पूरा नभई सडक निर्माण बढाउन नदिने भनेर सिफारिश दिन मानेका छैनन् । सडकको हालत बेहाल छ । दर्जनौं मानिस लडेर घाइते भइसकेका छन् सडकमा । उनको ध्यान ढलमै केन्द्रित छ ।

महालक्ष्मी नगरपालिकाको उपमेयर लक्ष्मी महर्जनको घर वडा नं ६ मै पर्छ । उनले पनि गैरकानूनी पानी विक्री वितरण हुँदा केही बोल्न सकेकी छैनन् । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ पनि पानी माफिया शैलीमा बेच्नेहरुसामु निरिह छन् ।

प्रतिक्रिया