एनभिएको कार्यप्रगति समिक्षा बैठक गोदावरीमा सम्पन्न

काठमाडौं,१६ चैत्र । चल, अचल सम्पत्तिको धितो मुल्याङकन सम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरुको छाता संस्था नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले कार्यप्रगति समिक्षा बैठक सम्पन्न गरेको छ ।
ललितपुरको गोदावरी भिलेज रिसोर्टमा शुक्रबारदेखि शनिबारसम्म एशोसिएशनले केन्द्रीय कार्यसमिति सल्लाहकार र प्रदेश अध्यक्षहरुबीच अन्तरकृया तथा कार्यप्रगति समिक्षा बैठक सम्पन्न गरिएको सचिव ई. रबिन्द्र अधिकारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष ई.सन्जय महतोले इन्जिनियरहरु कालोसूचीमा परेपछिको पीडा भोग्न साह्रै गाह्रो हुने बताए । शुद्धिकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने,‘ त्यसका लागि शुद्धिकरण अभियानमा लागौं, शुदिकरण गरौं । मैले सधै भन्दै आएको छु ।’ भ्यालुयर्स इन्जिनियरहरुले गल्ती गर्न नहुने उनको तर्क थियो । एनभिए सधै नियतवस गल्ती नगर्नेहरुको पक्षमा रहेको र उनीहरुलाई अफ्ठेरो पर्दा सहयोग गर्न तयार रहेको पनि उनले थप स्पष्ट पारे ।
त्यसैगरी,अन्तकृया एंव समिक्षात्मक कार्यक्रममा बोल्दै एनभिएका सचिव ई. अधिकारीले ‘बैंकरहरु सर्प नै रहेछन्, आज एउटा वित्त संस्थामा गइयो, रिभ्यालुएशन गरिएकै भरमा इन्जिनियर कालोसूचीमा…’ भन्ने शिर्षकमा रमाइलो गरी व्यगांत्मक प्रस्तुती दिएका थिए । बैंक र वित्तिय संस्थाहरुलाई सहयोग पुग्ने खालका भ्यालुयर्स इन्जिनियरहरुले विभिन्न कार्य गरेपनि उनीहरुले भने आफ्नो फि मात्र लिएको पनि स्पष्ट पारे । कर्मचारीहरु फस्ने भएपछि इन्जिनियरहरुलाई पटक–पटक बलिको बोको बनाइएको भन्दै सचिव अधिकारीले आन्दोलनका लागि अब तयार हुन पनि आग्रह गरे । उनले छैठौं कार्यसमिति पछिको सम्पुर्ण प्रगती विवरण पनि कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनभिएका उपाध्यक्ष ई.दिनेशकुमार पाठक र महासचिव ई. अशोक सिलवालले प्रस्तुतिकरण गरेका थिए भने उपाध्यक्ष ई.विकास वाग्ले र ई.सुर्दशन गौतमले जिआइएसका विषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रमको आकर्षणको केन्द्र नापी विभागका ई.सुर्दशन गौतमको प्रस्तुती थियो । कार्यक्रममा गोरखा पालुङटारका पूर्वमेयर, एनभिएका पूर्व अध्यक्ष एवं सल्लाहकार ई.दिपकबाबु कडेल लगायतका सबै सल्लाहकारहरु,केन्द्रीय पदाधिकारीहरु र प्रदेश अध्यक्षहरुकोे उपस्थिति थियो ।