स्वार्थी दलालहरू सल्बलाउँदा भय र त्रासमा सर्वसाधारण

संजिब गुरुङ्ग । काठमाडौं,१६ चैत्र । वि.स.२०६२/६३ को आन्दोलन पछि देशमा फेरि २०८१ सालमा आइपुग्दै गर्दा जनतामा भए र त्रास सिर्जना भएको देखिन्छ । ६२/६३ देखि नै राजनीतिक अस्थिरताले गिजोलिएको देश आर्थिक अभाव र आर्थिक संकटमा झेलिएको देश विभिन्न बहानामा युवा पुस्ताहरू परदेशिँदै गर्दा रित्तिएको देशमा फेरि केही स्वार्थ बोकेका झुण्डहरू सलबलाउँदा देशमा संकट उत्पन्न भएको हो ।
यही आन्दोलनबाट देखिएको अराजकतालाई हेर्ने हो भने समाजमा अझै पनि चेतनाको अभाव देखिन्छ । पसलबाट मौकाको फाइदा छोपी बोकिएका सामानहरू हेर्दै गर्दा हामी चरम गरिबीको अभावमा रहेछौं, दैनिकी गुजारा गर्नको निमित्त मौका छोपिरहेको रहेछौं भन्नेसम्म पनि आभास भयो । हरेक भीडसँगै देखिएका स्वार्थमुखी अनुहारहरू छर्लङ्गै देखिए ।
कोही अर्काका सम्पत्ति भत्काउन तल्लिन्थे, कोही त्यही भिडमा छिरेर अर्काले लगाएको गहना लुट्न व्यस्त थिए । कोही रिस पोखी प्रहरीमाथि ढुङ्गा हान्न व्यस्त थिए र कोही राष्ट्रका सम्पत्तिहरू सिसिटिभी, ट्राफिक बत्तीहरू लगायत भत्काउन व्यस्त थिए । यसरी स्वार्थ लुट्ने बहानामा आम नागरिकलाई भर्र्याङ बनाई आफू सत्तामा पुग्ने बहानामा आज फेरि देशमा अशान्ति मच्चिएको छ ।
खबर सङ्कलन गर्ने बहानामा पुगेका पत्रकार होस् या रोजगार नभएका युवा पुस्ता आन्दोलनमा पुग्दै गर्दा आज मृत्युवरणसम्म गर्न बाध्य छन् । नेपाली युवा पुस्ता आज आन्दोलन पक्षबाट ढुङ्गामुढा गर्दैगर्दा सरकार पक्षबाट गोली चलाइँदै गर्दा आज हाम्रो देशको दाजुभाई एकअर्कामा लडेको प्रष्ट देखिन्छ । आन्दोलन सफल होला या नहोला आन्दोलनलाई भर्र्याङ बनाएर स्वार्थ लुट्न तल्लिन केही अवसरवादीका झुण्डहरू कोही कहाँ पुग्लान या नपुग्लान त्यो पछिको कुरा हो। तर शान्तिभूमि नेपालमा फेरि आज सरकार नभएको आभास भएको छ ।
१०/२० हजार मान्छेको भिडलाई नियन्त्रण गर्न नसक्ने क्षमता आज गृह प्रशासनले प्रष्ट देखाएको छ । आज गरिमामय पद बोकेर बसेका गृहमन्त्री लाचार देखिएका छन् । लाचार भएर बस्नु गृहमन्त्री जस्तो पदमा बसेर नालाएकी पन हो । तत्काल राजीनामा दिनुपर्ने मान्छे लाचार भएर आन्दोलन ग्रस्त क्षेत्रमा हिँडेको देखिन्छ । आन्दोलनले राजा आउँछ या आउँदैन मलाई थाहा छैन् । आन्दोलनले देशमा परिवर्तन आउँछ या आउँदैन त्यो पनि थाहा छैन। तर देशमा अशान्ति मच्चिएको भने पक्कै हो । आन्दोलनकारीबाट ढुंगा खाने प्रहरी प्रशासन र प्रहरी प्रशासनबाट गोलीखाने आन्दोलनकारी दुवै देशका नागरिक हुन्, आफ्नै भाइ–भाइमा लडाई भएको देखिन्छ । यस्तो परिवर्तनले को कहाँ पुग्छ थाहा छैन् । तर देशको युवा मर्दै गर्दा त्यो घरको परिवारलाई कति पीडा परेको होला बुझ्दिने कसले ?
सम्पूर्ण गतिविधिहरूलाई साँच्चिकै हेर्ने हो भने आन्दोलनले आम नागरिकमा नयाँ पाठ सिकाएको छ, आज कसैको घरमा आगो लगाउँदै गर्दा खुसी हुने राजक भीडका पुस्ता जसले आगो लगायो उसको पनि पक्कै घर छ । चाहे सहरमा होस् या गाउँमा, चाहे महल होस् या झुपडी । कसैले त्यही घरमा फेरि आगो लगाइदियो भने त्यहाँ पक्कै पीडा हुन्छ, सम्पत्ति भत्काएर ढुङ्गामुढा गरेर गोली हानेर परिवर्तन असम्भव छ, गोली लागेर एक जवान ढल्दै गर्दा एकछिनको आन्दोलन त रोकियो होला । सोचेर हेरौँ त त्यो घरको कालो दिन अब सुरु भयो । त्यो पीडा रोकिने छैन्, आज आम नागरिक संयम हुने बेला भएको छ ।
आज देशमा सत्तामा बसेकाहरु दलाल र स्वार्थीहरू हुन्, आफ्नो सत्ता टिकाउन यिनीहरू जे गर्न पनि तयार छन् यो सत्य हो। र केही स्वार्थी झुण्डहरू आफू भागेर सर्वसाधारण नागरिकलाई युद्धमा होमेर आफू बन्न तल्लिन छन् । स्वार्थीहरू सबै एकै हुन् आज सचेत पुस्ताका सचेत नागरिकहरू मन, वचन र कर्मबाट सच्चिने बेला भएको छ। धैर्य गर्ने बेला भएको छ, आट र हिम्मत साहसलाई बढाउने बेला भएको छ ।
२०८४ सालमा यो देशमा चुनाव यही दलालहरूले नै गराउनेछ । त्यो बेला मन,वचन र कर्म लगाई परिवर्तनको सोच बनाई यो प्रविदककी यो संस्कारलाई परिवर्तन गर्न सकिने हिम्मत हामीमा छ । त्यसैले आज सबैभन्दा महत्त्वपूर्ण धैर्यता हो। हरेक प्रवृत्तिको अन्त्य गर्ने अधिकार हामी जस्तै सम्पूर्ण नागरिकहरूसँग छ । हात नकमाइकन हामीले आफ्नो विवेक प्रयोग गरेर आफ्नो मतलाई क्षमतावान मान्छेलाई चुन्ने हो भने यो देशमा शान्ति सुव्यवस्था कायम हुनेछ । आम नागरिकले चयनको सास फेर्नेछन् । आफ्नै देशमा रोजगारी गुणस्तरीय शिक्षा स्वास्थ्य सबै लागू हुनेछ । अराजक ढङ्गले यसरी नै हिंसा भड्काउँदै जाने हो भने यही अवस्थालाई फाइदा उठाएर विदेशी हस्तक्षेप नहोला भन्न सकिदैन् । हाम्रो देश नेपाल फेरि इतिहासमै सीमित हुनेछ।
इतिहास सत्य छ श्री ५ वीरेन्द्रको राज्य अभिषेक गर्दा नेपालको निमन्त्रणालाई स्वीकारेर आएको सिक्किमका राजा नेपाल हुँदै गर्दा सिक्किम देश नै भारतले कब्जा गरिसकेको थियो । हे नेपालका सचेत पुस्ता इतिहासले धेरै कुरा सिकाएको छ । हत्या हिंसा र आतंकको बाटोबाट आएको परिवर्तनले देशमा शान्ति सुव्यवस्था कायम गर्दैन् । त्यो सत्य हो । आतंककारीहरूले ल्याएको सत्ताबाट फेरि अर्को नयाँ परिवार मात्र बन्ने हो देश बन्ने होइन। संयम हुनु आजको आवश्यकता जय देश।
(गुरुङ नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)