गोदावरी खोला सुकाएर गैरकानूनी धन्दाको संरक्षणमा वडाध्यक्ष धर्म महर्जन

ललितपुर, १६ चैत्र । यी हुन् महालक्ष्मी नगरपालिका ६ का वडाध्यक्ष धर्म महर्जन । माओवादीबाट वडाध्यक्ष जितेका महर्जन यतिबेला वडाभरी ढल हाल्नमै केन्द्रित छन् । ढल हाल्ने क्रममा जताततै बाटो खनिएको छ ।
सिद्धिपुरबाट विष्णुडोल जाने सडकखण्डमा ढल हाल्ने क्रम वर्षौ देखि चलिरहेको छ । तर, उनको कार्यकाल सकिंदा पनि ढल हाल्ने क्रम नसकिने निश्चित भएको छ । जसका कारण हजारौं जनताले वर्षौंदेखि सास्ती पाएका छन् । सडक पुनःनिर्माणको प्रयास गर्दा धर्मले ढल पूरा नभई सडक निर्माण बढाउन नदिने भनेर सिफारिश दिन मानेका छैनन् । सडकको हालत बेहाल छ । दर्जनौं मानिस लडेर घाइते भइसकेका छन् सडकमा ।
अर्कोतर्फ, धर्म महर्जननिकट व्यक्तिहरुले दुई ठाउँमा खोलाको पानी सिधै तानेर ट्याँकरमा बेचिरहेका छन् । उनीहरुले साथथली जाने पुलको मुनी मान्छे जलाउने ठाउँमुनी धमिलो खोलाबाट र गोदावरी खोलाको विष्णुडोल जाने पुलमुनीबाट सिधै खोला थुनेर बेचिरहेका छन् । यसमा ठूलो कमिशनको खेल चलेको विश्वस्त स्रोतले बताएको छ ।
ट्याँकर आतंकले सडक झन् बिग्रिएको छ । धुलो उडेर जनताको स्वास्थ्य बिग्रिएको छ ।
महालक्ष्मी नगरपालिकासँग यसबारे सोध्दा गैरकानूनी कार्य रोक्न मानिरहेको छैन । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले बन्द गराउने आँट गर्न सकेका छैनन् । नगरपालिकाका सूचना अधिकारी इन्द्र प्रसाद अधिकारी करको दायरामा ल्याउने बताएर पन्छन्छन् ।
गोदावरी खोला बग्न नपाएर ठूलो वातावरणीय असर परिरहेको छ । अर्कोतर्फ, खोलामा गोबर र मुत्र सिधै मिसाएर कृषि सञ्चालन गरिएको भेटिएको छ । यसबारे नगरपालिकाका जनप्रतिनिधि आँखा चिम्लिएर बसेका छन् ।
महालक्ष्मी ६ का वडाध्यक्ष धर्म महर्जनसँग यसबारे सोध्न खोज्दा उनले मोबाइल उठाएनन् । उनलाई मेसेज पठाउँदा समेत बेवास्ता गरेका छन् । उनले नै गैरकानूनी रुपमा पानी बेचबिखनको संरक्षण गरिरहेका छन् ।