१७ चैत्र २०८१, सोमबार | March 31, 2025

रेबिज लागेका जनावर बिक्री गर्ने जेल चलान


166
Shares

स्याङ्जा, चैत १६ गते । रेबिजको लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल पठाएको छ । वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्र केसी र वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियालाई जिल्ला अदालत स्याङ्जाले जेल चलान गरेको हो ।

दुवै जनालाई सङ्क्रामक रोग फैलाउने कार्यमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अव मुद्दाको किनारा नलागे सम्म दुवै जना जेल बस्नु पर्ने भएको छ । रोगी पशु किनबेचमा चार जना संलग्न भए पनि दुई जना अझै फरार रहेको प्रहरीको भनाई छ ।

जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सरिता रायमाझीको एकल इजलासले दिएको आदेश अनुसार जेल चलान गरिएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो । रोगी पशु किनबेचमा संलग्न रहेका भीरकोट नगरपालिका–१ का नजबुन हसन मिया र भीरकोट–२ का प्रेमबहादुर सार्की फरार रहेको प्रहरीको भनाई छ । सार्की सवारी चालक र मिया भैँसी किन्ने व्यापारी रहेको बताइएको छ ।

के थियो घटना ?

स्याङ्जाको वालिङ–५ राजेन्द्र बहादुर केसीको भैँसीमा रेबिज सङ्क्रमण देखिएको थियो । केसीले आफ्नै घरमा पालेका सङ्क्रामक रोग रेबिजको लक्षण देखिएका जनावरहरू भैँसी, भैँसीको पाडा, बाख्रा र बाख्राको पाठी एक एक वटा गरी चार वटा घरपालुवा जनावर शंसुदिन मियाँलाई बिक्री गर्नु भएको थियो ।

रेबिज रोग लागेका पशुहरू वालिङ नगरपालिकाले निगरानीमा राखेको थियो । नगरपालिकाले निगरानीमा राखेकै बेला केसीले शंसुदिन मियालाई बिक्री गर्नु भएको हो । गएको फागुन १५ गते मियाँले रोग लागेका जनावरहरू खरिद गरी ग २ च २७६० नम्बरको सवारी साधनमा राखेर वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारी तर्फ लैजाँदै गरेको अवस्थामा वालिङ नगरपालिका १ बाट प्रहरीको टोलीले फेला पारेको थियो ।

मृतक भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीबाट किटद्धार परीक्षण गर्दा सङ्क्रामक रोग रेबिजको लक्षण पुष्टि भएको थियो ।

के छ कानुनी व्यवस्था ?

घटना लगत्तै फागुन १५ गते पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग फैलाउन नहुने कसुरमा प्रहरीले मुद्दा चलाएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको उपदफा १०४ सङ्क्रामक रोग फैलाउन नहुने कानुन अनुसार उनीहरूलाई कारबाही सुरु गरिएको थियो ।

कानुन अनुसार उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्ष कैद र एक लाख जरिवाना, लापरबाही पूर्वक गरेको भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना तथा हेलचक्राई गरेको भएमा तीनबर्ष कैद र तीस हजार जरिवानाको व्यवस्था रहेको छ ।

घरमा पालेको जनावरमा रेबिज लागेको पुष्टि भएसँगै वालिङ नगरपालिकाले नगर क्षेत्रमा उच्च सतकर्ता अपनाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । वडा नं।५ का कृषकहरूले पालेका अन्य जनावरहरूलाई रेबिजबाट बचाउन आवश्यक उपचार र सुई लगाउने कार्य गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालको भनाई छ । गोरखापत्र

प्रतिक्रिया