कुलमानको कदम के ?

काठमाडौं, १२ चैत्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङ मौन छन् । उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेको छ ।
लोडसेडिङ अन्त गरेको जस लिएका कुलमानलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार राति हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ । शाक्य ओलीनजिक मानिन्छन् ।
कुलमानलाई हटाएपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमार्फत् विरोध गरेका छन् ।
साउनको अन्तिम हप्ता पदावधि सकिने कुलमानलाई हटाउन सरकारले स्पष्टिकरण सोध्यो । उनले त्यसको जवाफ दिएपनि चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्बाट हटाइयो ।
कुलमानले अब जाने बाटो भनेको अदालत नै हो । उनले अदालतमा रिट दायर गर्न सक्छन् । तर, यो घटनाले मुख्य दलहरुबीच टकराव बढाएको छ ।