राजनितिक दल र राजावादीको नाङ्गो नाचले देश सङ्कटमा

संजिब गुरुङ्ग । पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरता र खिचातानीले देशले आर्थिक संकट झेलिरहेको छ । सम्पूर्ण युवा पुस्ताहरू प्रत्येक महिना ७० हजारको हाराहारीमा विदेश पलायनको बाटोमा हुँदै गर्दा फेरि देशमा लामो समयपछि राजनीतिक दल र विस्थापित राजावादीहरूको समूहबाट नाङ्गो नाचको सुरुवात भएको हो ।
राजनीतिक चेतनाको अभाव र नयाँ पुस्ता राज्यको अवस्था बुझेर विदेशको बाटोमा झुम्मिदा पुरानै अनुहारले फेरि आफैलाई सर्वे सर्व ठानी लुट्न तल्लिन भएका छन् । देशका नागरिकहरूलाई राजनीतिक रूपमा,जातीय रूपमा भागबण्डा लगाएर धार्मिक, धनी–गरिब,सानो र ठूलोको घेरा बनाई आम सर्वसाधारणलाई प्रयोग गरी आफू बन्न तल्लिन यी पुराना अनुहारका लुटेराहरू आफू नाङ्गिएर देशलाई पनि नङ्ग्याउन तल्लिन देखिन्छन् ।
आज देशमा आर्थिक अभावले उद्योग धन्दा कलकारखाना सबै बन्द छन् । मजदुरहरू पलायनको बाटोमा छन्, उच्च शिक्षाको बहानामा विद्यार्थीहरू पलायनको बाटोमा छन्। नग्न अवस्थामा हिँडिएका दलालहरू आफै लुट्नमा व्यस्त छन् आज राजनीतिक दलहरूलाई आफू मुखी बनाएर दलमा आबद्ध भएका कार्यकर्तालाई प्रयोग गरेर लुट्न तल्लिन मन्त्री उच्च ओहोदाका कर्मचारी यत्रतत्र भेटिन्छन् ।
दैनिकी सामाजिक सञ्जाललाई हेर्ने हो भने मन्त्रीका छोराछोरीहरूबाट आलिसान महल खरिद बिक्री कहीँ न कहीँ तस्करीमा प्रत्यक्ष रुपमा जोडिएका समाचारहरूले प्रसस्तै स्थान पाइरहेकै छन् ।
मन्त्री हुन बित्तिकै कर्मचारी सरुवा बढुवामा चलखेल गरी आफू बन्न तल्लिन मन्त्रीदेखि ढोकेसम्म तछाड मछाड गर्न व्यस्त हुन्छन् ।देशको राजनीतिलाई देश र जनताको हितमा प्रयोग नगरी आफूमुखी,आफू खुसी आफू मुखि नीति बनाएर समाजमा नेता भन्नेहरू नाङ्गिदै गएको प्रष्टै देखिन्छ । त्यसैले हरेक वर्ष समाजमा देखिने नयाँ स्टन्ट सँगसँगै जन्मिने नयाँ अनुहारका नयाँ दलालहरू आफूलाई सर्वेसर्वा ठानी लुट्नै व्यस्त देखिन्छ।
नयाँ पुस्तामा प्रशिक्षण र राजनीतिक चेतना नहुँदा लुटेराहरूको पछाडि लाग्ने भीड पनि बाक्लै देखिन्छ। ती अर्धचेत भिडहरूलाई प्रयोग गरी आफू बन्ने र बनेपछि सबैलाई बिर्सने परम्परा नै बसेको छ। चाउचाउ र बिस्कुट बाढी। सामाजिक सञ्जालहरूमा आफूलाई प्रमोट गरी राजनीति गर्नेहरूको भीड पनि बाक्लै छ। चाकडीमा लिप्त पुस्ता नोकरकै भूमिका निर्वाह गरी प्रभुकै शरणमा लिप्त देखिन्छन्। आफूभित्र भएका क्षमतालाई लुकाएर चाकडी गर्दा केही कुरा पाइन्छ भन्ने भावना बोकी राजनीतिमा यात्रा गरिएको देखिन्छ । त्यसैको पराकाष्टा आज देशमा राजनीतिक दल र राजावादीको जुहारीले आज देश जनसङ्टमा फस्दै गएको हो ।
विदेशीसँग लिएको ऋण कसरी तिर्ने ? देशमा भएका उद्योग कल कारखाना कसरी सञ्चालन गर्ने नीतिका तहमा भएका सम्पूर्ण संरचनाहरूलाई कसरी चलाउने भन्ने चिन्ता नलिई सरकारमा बसेकाहरू आफ्नै दम्ब र घमण्डमा हिँडेका छन् । हरेक शिक्षाका तहहरू,कर्मचारी,न्यायालय संयन्त्रहरू र स्वास्थ्यका निकायहरू अस्तव्यस्त छन्। यसमा कसैको ध्यान छैन्,वडादेखि प्रदेश हुँदै केन्द्रसम्म सत्तामा बस्नेहरू कमाउ धन्दामा तल्लिन देखिन्छन् । आफ्नालाई रोजगारी दिन, ठेक्कापट्टा मिलाउन,राजनीतिक नियुक्ति गराउनेदेखि अस्थायी रूपमा विभिन्न क्षेत्रमा भर्ती गराउन तल्लिन देखिन्छन् । आफु सत्तामा पुग्नु बित्तिकै सम्पूर्ण नीतिका तहहरूलाई मनोमानी ढङ्गले चलाउँदै गर्दा राष्ट्रसेवामा तल्लिन कर्मचारीको मनोबल गिराएको छ।
हरेक संगठनलाई कटपुतली झैँ नाङ्गोसँग नचाउन तल्लिन राजनीतिक दल आज समाजमा नाङ्गिएको छ त्यसैले आज फेरि जनताहरू सडकमा आउँदै राजा आउ देश बचाउ भनेर नारा लगाउन बाध्य छन्। नागरिकहरूमा चेतना नहुँदा नबुझ्दै गर्दा जसको पक्षमा गुणगान गाउँदै गर्दा यतिसम्म बुझ्ने कोसिस गरेनन्, यो देश राजाले बनाउने हो न त मन्त्रीले विवेकी भयौं भने यो देश यसै देशका हामी सर्वसाधारणले नै बनाउने हो भन्ने चेतना कहिले आएन राजाले २४० वर्ष शासन चलाए। पुस्तौँ पुस्ता आफैं बन्यो मोजमस्तीमा देशको ढुकुटीहरू रित्याइयो यो इतिहास छ। देशमा बहुदलीय सरकार आयो त्यसले पनि आफूमुखी काम गर्यो र आफू बन्ने काम गर्यो देशको ढुकुटी रित्यायो त्यसको इतिहास साक्षी छ।
आज देशमा गणतन्त्र आयो बचेखुुचेका सबै लुटेर नाङ्गै बनाइयो। यो आज समाजमा देखिएको प्रष्ट छ। तर बुझेनौ हामी सधैँ लुटाउन तयार भयौं, अर्कालाई धनी बनाउन तयार भयौं। हामी सचेत भएर कहिले देश हामीले बनाउने हो भन्ने बाटोमा कहिले लागेनौं, आज हामी सिङ्गो देश नेपालभित्र रहेको नेपाली राजनीतिक रूपमा आफू सफल बन्न बनाइएको घेरा धर्म जातिको घेराभित्र रहेर आफू–आफू काटामार गर्न लाग्यौं। आफू आफूहरूलाई होच्याउनतिर लाग्यौं,जो चतुर र फटाहाहरू थिए उनीहरू आफू बन्न लागे र बने पनि त्यो सत्य हो । राजनीतिक रूपमा सफल भएकाहरू र चाकडी गर्न जानेकाहरूको आज सम्पत्ति हेर्ने हो भने कुनै काम धन्धा गर्नेको भन्दा धेरै छ व्यापारिक घरनाको भन्दा धेरै छ त्यो सत्य हो तर हामीले बुझ्ने कहिले कोसिस गरेनौं ।
२००७ सालमा देशमा प्रजातन्त्र आयो त्यसपछि काङ्ग्रेस आबद्ध धेरै बने ।त्यसपछि जन्मिएका नयाँ दल एमाले, माओवादी, मधेसवादी दलहरू हुँदाहुँदा नयाँ जन्मेका राष्ट्रिय स्वतन्त्र पार्टी भनेर चिनिएका दल पनि कमाउँ धन्दामै लिप्त रह्यो। त्यो समाजमा सत्य देखियो। आज हरेक मन्त्री जनतालाई भ्रमित पार्न मात्र तल्लिन देखिएका छन् ।
सामाजिक सञ्जालहरूलाई प्रयोग गरी भ्रमित समाचारहरू समाजमा लिएर आउन तल्लिन देखिए । न त यो देशको प्रधानमन्त्रीले देश र जनताको हितमा काम गरे। आज साँच्चिकै हेर्ने हो भने सत्तामा रहेको परराष्ट्रमन्त्री,ऊर्जामन्त्री, खेलकुद मन्त्री, स्वास्थ्य मन्त्री, श्रम मन्त्री र सम्पूर्ण मन्त्रालयहरू कमाउ धन्दामा व्यस्त देखिए । नाङ्गै हिँडेको छ मेरो पहिरन ठिक छ भनेर अरुलाई । व्याख्या गर्न लगाइयो,आज सबलाई आफू बन्नु छ कसैलाई राजा ल्याउनु छ, राजा ल्याएपछि बाँकी सबै बाँडीचुडी आफै खानु छ। कसैलाई मन्त्री बन्न त कसैलाई सरकारी कुनै जिम्मेवारी पदमा नियुक्ति,कसैलाई तस्करी गर्नु त कसैलाई व्यापार गर्नुछ तर यो देश कसरी बन्छ राष्ट्र र राष्ट्र हितमा सोच्ने फुर्सद कसैलाई छैन्।
जनता सडकमा भेडा बाख्रा झैँ कुदेका छन्। हे अर्धचेत समुदायहरू, आँखा खोल्ने बेला भएको छ। नेपाल हाम्रो हो, नेपाली हामी हौं, यो देश हाम्रो हो, र यो देश बनाउने हामीले नै हो। कसैलाई ल्याएर कसैलाई माथि पुर्याएर देश बन्ने छैन् देश हामीले नै बनाउने हो। आजैबाट संकल्प गरौं हामी सबै मिली दलालीहरूलाई खबरदारी गर्ने होइन्, दलालीहरूलाई देश निकाला गरौं। दलालीहरूले कमाएको सम्पत्तिलाई राष्ट्रको नाममा ल्याई यसका छोरा नातीलाई देशमा सानोतिनो रोजगारीमा अल्झाएर मेहनतले गरी खान सिकाउँ देश बन्छ।
(लेखक गुरुङ्ग नेपाल तरुण दलको केन्द्रीय सदस्य हुन् ।)