ग्वार्को ओभरपासमा खेलवाड

काठमाडौं, १० चैत्र । ग्वार्कोमा ओभरपास बन्ने चर्चाले देशभर चासो बनेको थियो । ओभरपास दुई वर्षमै निर्माण हुने आशा गरिएको थियो । लाखौं सवारी ओहोरदोहोर गर्ने ग्वार्को क्षेत्रका सर्वसाधारणले ट्राफिक समस्यालाई पनि झेले ।
निर्माण पूरा होला भन्दा भन्दै तीन वर्ष बित्यो । तर, ओभरपास पूरा हुनुको साटो अनेकन बहाना देखाउन थालियो ।
आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा ठेक्का पाएकोमा घाटा परिसकेको कम्पनीको दाबी छ । त्यसमाथि सातदोबाटोतर्फको ४० मिटर आरवाई वालको प्यानल सुधारका नाममा भत्काएर पुनः निर्माण गर्न थालिएको छ । योसँगै निर्माण अझ पछाडि धकेलिने भएको छ ।
निर्माण कम्पनी म्याद थपेर जरिवाना समेत तिरेर बनाइरहेको छ । लागत बढाउने खेल पनि चलेको छ अहिले ।
अहिलेकै गतिमा काम भएमा निर्माण अर्को एक वर्ष धकेलिने निश्चित छ । निर्माण कम्पनी वर्षाअघि सक्ने दाबी गर्छ तर त्यो सम्भव हुने देखिदैन । यसबाट लाखौं यात्रु थप समस्यामा पर्ने भएका छन् ।