२३औं गोल्डेन जुब्लि स्कलरसिप दिवस मनाइयो

काठमाडौं, ९ चैत्र । भारतीय राजदूतावासमा २३औं गोल्डेन जुब्लि स्कलरसिप दिवस मनाइएको छ । गोल्डन जुब्ली छात्रवृत्ति पाउने २ सय विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका प्रमुख डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजश्री जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजु कुमार थपलिया, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा ध्रुवकुमार गौतम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलिया उपस्थित थिए ।
कार्यक्रममा विभिन्न संस्थानका डीनहरू र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।लगायत सहभागी थिए । कार्यक्रममा शिक्षा क्षेत्रका गन्यमान्य व्यक्तित्वहरु सहभागी थिए ।
नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे । श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३ औं ब्याचका पुरस्कृतहरुका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई पनि बधाई दिए । विद्यार्थीहरूलाई आ-आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पारे ।
सन् २००२ मा स्थापित गोल्डेन जुब्ली छात्रवृत्ति हरेक वर्ष २ सय जनालाई प्रदान गरिन्छ । यो छात्रवृत्तिबाट ३५ सय भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।
भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् ।