११ चैत्र २०८१, मंगलबार | March 25, 2025

जात र धर्मको ब्यापार बन्द गर्नु आजको आवश्यकता


3.9k
Shares

संजिब गुरुङ्ग । आज पछिल्लो समय समाजमा विकराल अवस्थामा देखिएको सामाजिक समस्या जाति र धर्मको नाममा गरिएको व्यापार । यसले चरम रुपमा समाजलाई अस्तव्यस्त बनाउँदै लगिरहेको छ ।  जनसङ्ख्या वृद्धिसँगै केही बाठा टाठाहरूले समाजमा आफूमुखी राज गर्नको लागि बनाएका यी घेराहरू आज वास्तवमै मानव विनाशको लागि खराब माध्यम बन्दै गएकोमा सहजै अनुमान लगाउन सकिन्छ ।

समाजमा देखिएका विभिन्न प्रकृतिका जाति प्रजातिहरूले मान्दै आएका धेरै प्रकारका धर्म यी घेराहरूलाई अगुवाहरूको काल्पनिक मनोमानीको आधारमा यसलाई सर्वेसर्वा ठानेर आफू खुसी र आफूमुखी बनाएको नीतिहरू प्रचलनमा ल्याइदा मेरो जात ठूलो र मेरो धर्म ठूलो भनेर समाजमा गाइने गुणगानले आज समाजमा भय र द्वन्द सिर्जना भएको पाइन्छ ।

यसरी नै तछाडमछाडको बाटोमा अगाडि बढिरहने हो भने एकदिन समाज र सामाजिक आस्थाहरू समाप्त हुनेछन । अझै नेपाली परिवेशलाई हेर्ने हो भने ती घेराहरूलाई नै प्रयोग गरी जातीय नाममा मागिने अधिकार, धर्मको नाममा मागिने अधिकार व्यापारकै रूपमा प्रयोग हुँदै आएको भन्न सहजै सकिने अवस्था छ ।

धर्म एक पवित्र शब्द जुन समाजको समानता हो । समाजमा देखिने आत्मियता र सद्भाव हो तर आज समाजमा देखिएको धर्मले मानव–मानव बीच फाटो उत्पन्न गराइरहेको छ । त्यो समुदायको त्यो धर्म मान्ने मान्छे फरक यो समुदायको यो धर्म मान्ने मान्छे फरक भन्दै आफू आफूमा वर्गीकरण गरी एकले अर्कालाई होच्याई गाली गलोज गर्दै समाजमा द्वन्द सिर्जना गरेको देखिन्छ ।

त्यति मात्र नभएर विभिन्न कलाकृतिले भरिएका मठ मन्दिरहरू विभिन्न जातिले परिकल्पना गरी बनाइएका फरक आकृतिका घरभित्र राखिएका मूर्तिहरू त्यसलाई नै सर्वेसर्वा ठानेर पुज्ने धर्मका गुरु उनीहरूले नै परिभाषित गरिएका विभिन्न पुस्तकहरूले आज समाजमा झनै विकराल अवस्था पैदा गरिएको छ । समाजमा आत्मियता, सद्भाव खलबलिएको र समाज कुरूप हुँदै गएको देखिन्छ, त्यो हुँदै गर्दा समाजमा देखिएको जातिको वर्गीकरणसँगै बनेका जातीय घेराका संगठनहरू जातीय घेरासँगै मानिएका धर्मका संगठनहरूले आज समाजलाई नै द्वन्द सिर्जना गर्ने थलो बनाएको छ ।

आज शताब्दीको कुरा गर्ने हो भने एक्काइसौँ शताब्दी नेपाली भूमिको पात्रोलाई पल्टाउने हो भने २०८१ सालमा आइपुग्दा मानव समाजमा मानव जातिमा नआएको एउटा चेतना यही हो भन्न सकिन्छ ।
हामी यस धर्तीका मानव हौँ। हाम्रो जात मानव हो र हाम्रो धर्म मानव धर्म हो भन्ने आज ती जातिका अगुवा र धर्मका धर्म गुरुहरूले बुझाउन नसक्दा आज समाज एकअर्कामा जुध्न बाध्य छ । यसरी नै समाज तछाडमछाडको गतिमा जाने हो भने मानव जातिले नै यो समाजको विनाश गर्नेछ । आज हरेक जातिले बनाएको जातीय घेरा र धार्मिक घेरा समाजमा ठूलो व्यापारको रूपमा मौलाएको देखिन्छ ।

आज मन्दिर प्रवेश गर्दा होस्, चर्च प्रवेश गर्दा होस्, मस्जिद प्रवेश गर्दा होस् या गुम्बा प्रवेश गर्दा होस् फरक पहिरन लगाएकाहरूलाई सर्वेसर्वा ठानेर दानको रूपमा होस् या भेटीको रूपमा होस्, सहयोगको रूपमा होस् या चन्दाको बहानामा होस् हरेक सर्वसाधारण त्यहाँ लुटिएकै देखिन्छ । आफ्नो कर्ममा विश्वास नराख्ने समाज हरेक बहानामा मूर्तिको अगाडि लुटिएको देखिन्छ ।

आफ्नो कर्ममा विश्वास नगरी यसरी लुटाउनेको सङ्ख्या संसारभरि बाक्लै छ । यसरी नै समाज अगाडि बढ्दै जाने हो भने एकदिन समाज छिटै अन्त्य हुनेछ। आज दिनानुदिन देखिएका अराजक गतिविधि,हिंसाहरूले आज धेरै देशहरू तहसनहस भएको देखिन्छ, यसरी नै समाजमा जात र धर्मको नाममा व्यापार गर्दै हिंसा भड्काउँदै जाने हो भने मानव जातिले नै आफ्नो वंश विनाश गर्नेछ । अब सम्पूर्ण मानव प्रजातिका प्राणीहरू हामी नागरिक एकै हुनुपर्छ । हामी सम्पूर्णमा एउटै चेतना छ ।

हामी सबै मिलेमात्र मानव समाज र मानव जगतको रक्षा गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ यो समाज जुट्नु आजको आवश्यकता हो। आज समाजमा देखिएका एक देशले अर्को देशमाथि गरिएको दमन र शोषणलाई हेर्ने हो भने समाज विनाशको बाटोमा गएको पक्कै हो। आज मानव समाजमा नआएको चेतना यसरी नै बढ्दै जाने हो भने केही वर्षमा मानव जगतको पूर्ण विनाश हुनेछ । सचेत हुनु आजको आवश्यकता मानव जात र मानव धर्मको पालना गरौं।
(गुरुङ्ग नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।)

 

प्रतिक्रिया