राप्रपाले नवराज सुवेदीलाई स्वीकारेन, लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने

काठमाडौं, ५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवराज सुवेदीको संयोजकत्वमा गठित राजा फर्काउने आन्दोलनलाई अस्वीकार गरेर राजेन्द्र लिङ्देनको नेतृत्वमा छुट्टै आन्दोलन गर्ने निर्णय लिएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्तिमार्फत् आन्दोलनको तयारीका लागि १२ चैत्रमा बैठक बसी कार्यक्रम तय गर्ने जनाएका छन् ।
राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठक लिङ्देनको अध्यक्षतामा बस्ने र राजसंस्था, हिन्दु राष्ट्रको पुनः स्थापना, प्रदेश संरचना खारेजीलगायतको मुद्दा उठाएर आन्दोलन तय गर्ने उल्लेख गरेको छ । आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसँग पारस्परिक एकता, संवाद र सहकार्यका लागि राप्रपाले पहलकदमी गर्ने समेत उल्लेख छ ।