प्राज्ञिक विद्यार्थीको लहरले स्ववियू चुनावमा दलका विद्यार्थी संगठनलाई चुनौती

काठमाडौं, ४ चैत्र । स्ववियू चुनावकै मुखमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको १०औं महाधिवेशन चितवनको भरतपुरमा चलिरहेको छ । एक हजार प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ प्रस्ताव पारित गर्दैछ । नयाँ नेतृत्व त पाइसकेको छ प्राज्ञिकले ।
देशको एकमात्र कुनैपनि दलसँग आवद्ध नभएको विद्यार्थी संगठन प्राज्ञिकको देशव्यापी सञ्जाल छ । विद्यालय तहदेखि नै दुई दशकभन्दा बढी समययता सक्रिय भएकाले प्राज्ञिकको प्रभाव बढ्दो छ ।
गत स्ववियू चुनावमा प्राज्ञिकका विद्यार्थीहरुले देशभरका विभिन्न क्याम्पसमा विजय हासिल गरेका थिए । त्रिवि केन्द्रीय क्याम्पसमा सहसचिव र सदस्य सहित दुई सिट जितेर इतिहास रचेका थिए ।
यसपटक प्राज्ञिकले देशभर उम्मेदवार खडा गरेको छ । विभिन्न क्याम्पसमा प्राज्ञिकका विद्यार्थी स्वतन्त्र विद्यार्थी समूह खडा गरेर पनि चुनावी मैदानमा छन् ।
प्राज्ञिकका विद्यार्थीलाई उम्मेदवार बन्नबाट रोक्ने गतिविधि पनि भए । गुण्डागर्दी गरेर मनोनयन दर्ता गर्न नदिने देखि प्रचार गर्न नदिनेसम्म गरिए । कतिपय क्याम्पसमा चुनाव हुन नदिने प्रयास पनि भएको छ ।
प्राज्ञिकको लहरबाट दलका भातृसंगठनहरु तर्सिएका छन् । ५ चैत्रमा देशका चार सय क्याम्पसमा मतदान हुँदैछ । त्यस क्रममा प्राज्ञिकका विद्यार्थीहरुले दरिलो गरी सक्रियता बढाएका छन् ।