२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

स्ववियु निर्वाचन : नेविसंघलाई बागी मिलाउनै हैरान, दुई संगठन शान्त


747
Shares

काठमाडौं,२९ फागुन। नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र बागी उम्मेदवारले हैरान पारेको छ । देशभर करिब दर्जन बढी क्याम्पसमा बागीले उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिनेमा शेखर कोइराला पक्ष हाबी देखिएको छ ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार त्रिवि केन्द्रीय क्याम्पस, थापाथली इन्जिनियरिङ, त्रिचन्द्र, आरआर क्याम्पस, ठाकुरराम बहुमुखी, महेन्द्रमोरङलगायतमा बागीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने विषयमा भागवण्डा मिलाउन नसक्दा केही ठूला क्याम्पसमा बागीको हाबी देखिएको छ । कसलाई उम्मेदवारी दिने भन्ने विषयमा विवाद हुँदा त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघ आबद्ध ६ जनाले बागी उम्मेदवारी दिएका छन् ।

नेविसंघमा केन्द्र र इकाइले फरकफरक अध्यक्षलाई मनोनयन गर्न पत्र पठाएपछि विवाद भएको थियो । केन्द्रले दीपकराज जोशीलाई गर्ने अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न पत्र पठायो । त्यसअघि त्रिवि इकाइ सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्ष उम्मेदवार हुने गरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको थियो । केन्द्र र इकाइले फरकफरक उम्मेदार घोषणा गरेपछि ठूलो समस्या भएको छ ।

त्रिविमा पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टि जनाउँदै वागी उम्मेदवारी दिएका छन् । उम्मेदवारीको विरोधमा नेविसंघका असन्तुष्ट र आधिकारिक उम्मेदवारले तालाबन्दी गरेका छन् ।
इकाइ अध्यक्ष बडैलाले स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र नेविसंघको निर्देशक समिति संयोजकबाट निर्देशनअनुसार कार्कीलाई उम्मेदवार बनाएको दाबी गर्नुभएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा आधिकारिक उम्मेदवार को हो भन्ने विषयको टुंगो नलागेका कारण उम्मेदवार टुङ्ग्याउन जटिल भएको छ ।

पूर्वाञ्चलकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । तालाबन्दीलगत्तै प्रहरी टोलीले ताला फुटाइदिएको छ । कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको थियो । नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्ज्वल विष्ट र कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।

अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए । त्यस्तै वीरगन्जको ठाकुरराम बहुमखी क्याम्पसमा दुई प्यानलमा वागीले उम्मेदवारी दिएका छन् । अधिकांश क्याम्पसमा अध्यक्ष पदमा बागीमा उम्मेदवारी दिएका छन् । तर, ठाकुरराममा भने दुईवटा प्यानलबाटै उम्मेदवारी दिएको नेविसंघका प्रवक्ता सेजुवालले जानकारी दिनुभयो ।

बागी उम्मेदारले नेविसंघलाई तनाव बनाएको छ । प्रवक्ता सेजुवालले अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म मिलाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मनोनयन गर्दा थुप्रैले बागीमा उम्मेदवारी दिन्छन्, अन्तिम दिनसम्म सबैलाई मिलाउनेछौं ।’ उहाँले भनेजस्तो मिल्ने अवस्था देखिँदैन । देउवा र कोइरालाबीच फरक गुट भएकाले फिर्ता लिने अवस्था न्यून छ ।

प्रवक्ता सेजुवालले अन्तिम समयसम्म मिलाउने गरी बागी दिएका क्याम्पसमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आज बिहीबारसम्म असन्तुष्टलाई मिलाएर निर्वाचनमा होमिनेछौं । उम्मेदारी दिएका पदाधिकारी र सदस्यले आजसम्म मिलाउनैपर्छ ।’ विवाद मिलाउन अध्यक्ष दुगाङ शेर्पालगायत पदाधिकारी लागिपरेका छन् ।

तीन ठूला प्रतिस्पर्धी संगठनमध्ये अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० मा उम्मदवारी र बागीको विषयमा कुनै विवाद छैन । अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्लले देशभर निर्वाचन हुने तयारीमा रहेका ५० वटा क्याम्पसमा शान्तिपूर्ण रूपमा मनोनयन भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मंगलबार मनोनयन ग¥यौं, भोलि बिहीबार दाबी विरोध र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदासम्म कुनै विवाद हुँदैन ।’ सबै क्याम्पसमा सहमतिकै आधारमा पदाधिकारी र सदस्यमा मनोनयन गरेको उहाँले बताउनुभयो ।

अनेरास्ववियु ९क्रान्तिकारी० विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्माले क्रान्तिकारीमा कुनै पनि वागी उम्मेदवार नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो कुनै विवाद छैन सबै मिलाएका छौं ।’ बरू नेविसंघ र अनेरास्ववियुले धेरै क्याम्पसमा तालमेल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘केही क्याम्पसमा दुई विद्यार्थी संगठनको तालमेलको विरुद्ध एक्लै भिड्दै छौं ।’ उहाँका अनुसार नेविसंघभित्र विवाद हुँदा कोइराला पक्षले बागी उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक जिल्लाका सबै क्याम्पसमा भागवण्डा भएको छ । सल्यान, काभ्रे र उपत्यकाका केही क्याम्पसमा अनेरास्ववियु ९क्रान्तिकारी० विरुद्ध दुई ठूला संगठनबीच तालमेल भएको शर्माको भनाइ छ ।

देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । अब ५० आंगिक क्याम्पसमा मात्र निर्वाचन हुने सम्भावना छ । हिजो मनोनयन दर्ता हुने अन्तिम समय दिउँसो ५ बजेसम्म मनोनयन भएको छैन । त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन ।

तीन ठूला विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० बीच सहमति हुन नसक्दा १३ क्याम्पसमा मनोनयन दर्ता नभई निर्वाचन प्रक्रिया भाँडिएको छ । मनोनयन हुन नसकेका १३ क्याम्पसमध्ये काठमाडौंको केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती, शंकरदेव, नेपाल ल, विश्वभाषा, आयुर्वेद र पब्लिक युथ क्याम्पस धोबीचौर छन् । उपत्यकाबाहिर मधेस प्रदेशका ३, लुम्बिनीको २ र गण्डकी तथा कोशी प्रदेशको १–१ छन् ।

मधेस प्रदेशका सबैभन्दा धेरै विद्यार्थी भएका जनकपुरको रामस्वरूप रामसागर ९रारा० बहुमुखी, महेन्द्र विन्देश्वरीर सूर्यनारायण सत्यनारायण वरवैत्ता बहुमुखी क्याम्पस सिराहा छन् । लुम्बिनी प्रदेशको बुटवल बहुमुखी र भैरहवा बहुमुखी क्याम्पस भैरहवा छन् । गण्डकी प्रदेशको वाग्लुङको धौलागिरि बहुमुखी क्याम्पस, कोशीको महेन्द्र मोरङ क्याम्पसमा निर्वाचन हुन सक्ने सम्भावना छैन ।

निर्वाचन निर्देशिकाअनुसार निर्वाचन हुन नसकेका क्याम्पसले आपसी सहमति गरी १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । मनोनयन दर्ता भएका क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ । आज २९ गते प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदारले नाम फिर्ता लिने र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राती १२ बजेसम्म प्रचार गर्न पाइनेछ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।
समाचारपत्र

प्रतिक्रिया