२८ फाल्गुन २०८१, बुधबार | March 12, 2025

चोलेन्द्रको बीचौलिया र टेरामेक्सको सौदाबाजीमा सर्वोच्चको न्यायाधीश नियुक्तिको खेल


2.3k
Shares

नेपाली पेन खोज । सर्वोच्च अदालतमा रिक्त रहेको चारवटा न्यायाधीशको पदमा दलको कार्यकर्ता, नातागोता र बीचौलियाको अनौठो ध्रुवीकरण र चलखेल बाक्लिएको छ । न्यायाधीश नियुक्तिमा भएका र हुने चलखेल, दलीय भागबन्डा र आर्थिक लेनदेनको खोज पत्रकारितामार्फत सिलसिलेबार समाचार प्रकाशित गरेको नेपाली पेनको सन्सनीपूर्ण खोज समाचारको थप खुलासा हुन आएको छ ।

मुख्य न्यायाधीशबाट पनि दलीय कोटा

अमूक व्यक्तिलाई फाइदा पुर्‍याउनको लागि गरिएको न्याय परिषद नियमावलीको संसोधन संविधानविपरीत भयो भनी बारले आन्दोलन गरी ठूलो झरीबीच पनि मुसो रूझाइबीच न्याय परिषद सचिवालयमा दिएको धर्नाका बाबजुद पनि अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश विश्वम्भर अध्यक्षताको न्याय परिषदले मुख्य न्यायाधीशबाट २ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्‍यो । न्यायाधीश सिफारिस आर्थिक लेनदेनका आधारमा भयो भनी बार सार्वजनिक वक्तव्य दिएका बार अध्यक्ष गोपालकृष्ण घिमिरे अहिलेपनि अदालतको अवहेलना मुद्दाको प्रतिवादी छन् । सिफारिस भएका नृपध्वज निरौला एमाले र नित्यानन्द पाण्डे काङ्ग्रेस कोटाका थिए । निरौला न्याय परिषद सचिव छँदा राष्ट्रपतिको शपथ ग्रहण समारोहकै बीच गोपाल पराजुलीलाई बेइज्जतीपूर्ण अपदस्त गर्ने गिरोहको डमी बनी असंवैधानिक पत्रमा सही गरेका थिए । गिरोहको गोटी बनेको १० महिना १४ दिनपनि नबित्दै निरौलाले मुख्य रजिष्ट्रार पद बक्सिस पाए । मुख्य रजिष्ट्रार पद रिक्त थिएन । गोपाल पराजुलीलाई झैँ उनीद्वारा नियुक्त बहालवाला मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईलाई अपदस्त गरी निरौलालाई चोलेन्द्र समशेरले बढुवा गरेका थिए ।

रजिष्ट्रार निजामति पद हो । निजामति सेवाको राजपत्राङ्कित पदमा न्यूनतम ५ वर्ष सेवा नगरी बढुवाको लागि उम्मेदवार हुन निजामति सेवा ऐन, २०४९ को दफा २१ को उपदफा (१) को देहाय (ख) ले प्रतिबन्ध लगाएको छ । २०७३ माघ ६ गते रजिष्ट्रार बनेका निरौला २ वर्ष ८ दिनमै मुख्य रजिष्ट्रार बन्न ऐनले छेकेन । एमालेको लेबी तिर्ने कार्यकर्ता हुनु उनको उच्चतम् योग्यता त छँदै थियो त्यसमाथि चोलेन्द्रसँग सेटिङ । २०७५ माघ १४ मा रजिष्ट्रार बनेका निरौला त्यसको १ वर्ष ७ महिना २७ दिनमै मुख्य न्यायाधीश बनाइए । न्यायाधीश नै नबनी मुख्य न्यायाधीश बन्न नसक्ने नियम निरौलाको हकमा लागेन । संविधानको धारा १२९ को उपधारा (५) ले उच्च अदालतको न्यायाधीश वा मुख्य न्यायाधीश भएको ५ वर्ष नपुगी सर्वोच्चको न्यायाधीश बन्न रोक लगाएको छ । तर निरौला संविधान धोती लगाउँदै ३ वर्ष ७ महिनामै सर्वोच्च तानिए । यसअघिको न्याय परिषदको नियुक्तिमा मुख्य न्यायाधीशको १ नं. मा रहेका निरौलालाई ५ वर्ष नपुगेको भनी सर्वोच्च नल्याइ जुनियर न्यायाधीशद्वय महेश शर्मा पौडेल टेकप्रसाद ढुङ्गानालाई सर्वोच्च तानिएको थियो । निरौलाको लागि ऐन र संविधानका प्रावधानहरू कागजको फगत खोस्टो साबित भए । त्यस्तै सर्वोच्च लगिएका अर्का पात्र नित्यानन्द पाण्डेको योग्यता गृहमन्त्री रमेश लेखकको ल फर्मको हुनुमात्र नभई साढुभाइ हुनु थियो । पाण्डे २०७० सालमा नरहरि आचार्य कानूनमन्त्री छँदा वकीलको कोटाबाट पुनरावेदन अदालतमा छिरेका थिए । उच्चको न्यायाधीशको ३० नं. क्रमसंख्यामा रहेपनि पाण्डे सहकारी ठगीका आरोपित धनराज गुरुङ कानूनमन्त्री हुँदा सिनियरहरूलाई उछिनी क्रेन लगाएर मुख्य न्यायाधीश बनाइए । मुख्य न्यायाधीशको पनि ५ नं. मा क्रममा रहेका पाण्डे उनै लेखकको सोर्सफोर्समा पुनः सर्वोच्च तानिए । यतिखेर कानूनमन्त्री थिए हालका अजयकुमार चौरासिया । “सेटिङ मिलाइसकेको छु, आरजू नातामा मामापर्ने लोहितको नाममा मरिहत्ते गरेको गर्‍यै छ, लोहित गुप्तचरबाट आएको मण्डले हो, सुलसुले छ, आरजू चीन भ्रमणमा रहेको मौकामा बल्ल मुहुर्त जुराएको छु, चौरासिया डराएको छ, त्यो अलि लोभी छ, त्यसलाई यसो अलिअलि चित्त बुझ्ने गरी मन्साउनु, अरू प्रधानन्यायाधीश र राउततिर मिलिसकेको छ” भनी लेखकले पाण्डेलाई अह्राएको उतिखेर लेखक-पाण्डे भलाकसुरीमा उपस्थित सुदुरपश्चिमका एक कार्यकर्ताले बताए । वरियतामा २ नं. मा रहेका लोहितचन्द्र शाहलाई प्रधानमन्त्रीसँग आरजू चीन भ्रमणमा गएका बखत चिप्ल्याएर विश्वम्भरसँग साँठगाँठ मिलाएर पाण्डेलाई काङ्ग्रेस कोटामा सर्वोच्च छिराउन लेखक सफल भएका थिए ।

दलीय भागबन्डा र चोलेन्द्रको बीचौलिया

अहिले रिक्त ४ न्यायाधीशको लागि सत्तारुढ दलहरू एमाले र काङ्ग्रेसले बराबर भागबन्डा गर्ने सहमति भएको छ । न्यायाधीशबाट २ जना र बाहिरबाट २ जना ल्याउने सैद्धान्तिक सहमति भएको बुझिएको छ । भ्रष्टको छवि बनाएका एमाले र काङ्ग्रेसका नेताहरू आफन्त र बीचौलियाको नाम बोकेर ओली र देउबाकोमा धाइरहेको हल्ला बजारमा व्याप्त छ । विशेष अदालतमा एमाले समर्थक भ्रष्टचारीहरूलाई सफाइ दिएर सेटिङ मिलाएका टेकनारायण कुँवर भरखरै रिटायर्ड सचिब मधु मरासिनी बोकेर विष्णु रिमालमार्फत दौडधुपमा छन् । मधुलाई टेकनारायणले गुन लगाएका छन् भ्रष्टाचार मुद्दामा । उनी सपना मल्ल मेरो खल्तीमा छन् भनी धाक दिने पनि गर्छन् । एमाले समर्थक भएपनि पोखराका खगराजको बलबुतामा मात्र श्रीकान्त पौडेलको सर्वोच्च जाने सपनामा टेकनारायण अवरोध बन्ने निष्चित छ ।

उता बालुवाटार ललिता निवासको जग्गा खाने अर्थमन्त्री विष्णु पौडेलले नातेदार अर्घाखाँचीका ठेगाना भएका वकील ईश्वरी प्रसाद भट्टराईको नाममा दबाब दिइरहेका छन् । काङ्ग्रेस कोटामा पोखरामै कार्यरत सुदुरपश्चिम घर भएका संस्कृतमा पिएचडी गरेका बागचन्द पनि दाबी गरिरहेका छन् । काङ्रेसको एकथरी दलित नेताहरू र सुदुरपश्चिमेहरू बागचन्दको नाममा मोर्चाबन्दीमा छन् । अर्कोतर्फ टेरामेक्स काण्डमा ह्वास्सै गनाएका अर्थ, कानून र सञ्चारजस्ता मन्त्री हुँदा कुस्त लुटेका भ्रष्ट शिरोमणी भनेर काङ्ग्रेस वृत्तमा चिनिने टेरामेक्स काण्डमा नाइके ज्ञानेन्द्र बहादुर कार्की हेटौँडा तिरका आशिस अधिकारीको नाममा मोलमोलाइमा व्यस्त छन् । अधिकारी चोलेन्द्र प्रधानन्यायाधीश छँदा कहलिएका बीचौलियामा गनिन्थे । अधिकारीको लागि कार्कीले आरजू राणासँग पनि सेटिङ मिलाइसकेको अधिकारी निकट स्रोत बताउँछ । चोलेन्द्र प्रधानन्यायाधीश छँदा तीन धारका बीचौलिया सक्रिय भएको, मुद्दाको मोलमोलाइमा आफूहरूलाई ढिप्किनै नदिएको रिसमा सिन्डिकेटधारी वरिष्ठ वकीलहरूले बारको नाममा १०९ दिन आन्दोलन मच्चाएर सर्वोच्च अदालत ठप्प पारेका थिए । चोलेन्द्रको सिण्डिकेटमा प्रत्यक्ष ३ र अप्रत्यक्ष कैयौँ बीचौलिया थिए । एमाले धारको नाइके मनोजकुमार शर्मा, नवराज थपलिया र जयनारायण पौडेल थिएभने काङ्ग्रेस धारमा किशोर सिलवाल, दिपकराज तिमिल्सिना र आशिष अधिकारी थिए । भाइ प्रभु समशेर (आइपेक्स मल) यी दुवै धारबीच समन्वय गर्न तेस्रो धारमा व्यस्त थिए । राणाले दामोदर भतिज मनोजकुमार शर्मालाई सर्वोच्च र नवराज थपलियालाई उच्च अदालतको न्यायाधीश बनाउन भ्याए भने किशोर सिलवाललाई अख्तियारको आयुक्त । आशिषलाई मुख्य न्यायाधीश बनाउने राणाको प्रयास न्याय परिषदका वरिष्ठ सदस्य दीपककुमार कार्कीले असफल बनाइदिएका थिए ।

ज्ञानेन्द्र बहादुर कार्की र मोहनबहादुर बस्नेतलाई अख्तियारले बयानको लागि बोलाएको बेलामा बीचौलिया काममा माहिर हेटौँडाका आशिष अधिकारी देउबा निकट काङ्ग्रेस नेतृ डिना उपाध्यायमार्फत कार्कीको सम्पर्कमा पुगे । स्मरण रहोस् काङ्ग्रेस र माओवादीहरूले महाभियोग लगाएको बेला राणाको निवासमा गएर भेटेकोमा डिना विवादित भएकी थिइन् । राणा र डिनाबीच भेट गराउने रहस्यमय पात्र उनै आशिष थिए । राणाको कोटामा अख्तियारको आयुक्त बनेका किशोर सिलवालमार्फत सेटिङ मिलाइ कार्की र बस्नेतलाई सामान्य बयानको रित पुर्‍याएर मात्र मुद्दा नचलाउने निर्णय गराउनमा अधिकारीकै सिद्धहस्त सेटिङको कमाल थियो । जगजाहेर छ कि टेरामेक्समा आरजूको नाम पनि मुछिएको थियो । चोलेन्द्र समशेर र ज्ञानेन्द्र बहादुर कार्कीकी दोस्री पत्नी मात्र नभई मोहन बहादुर बस्नेतकी पत्नी पनि आरजूको पारिवारिक नाता पर्नु पनि कार्की र बस्नेत पटक-पटक मन्त्री पद पड्काउन सफल हुनुको कारक हो भनी काङ्ग्रेस नेताहरू बताउँछन् । काङ्ग्रेसी मन्त्री मुछिएका हरेक ठूला घोटलामा आरजू जोडिन्छिन् । टेरामेक्समा पनि आरजुको नाम जोडिएकोले आशिषलाई काङ्ग्रेस कोटामा सर्वोच्च लान ज्ञानेन्द्रले आरजूलाई बाध्य बनाएको उच्च स्रोत बताउँछ । अघिल्लोपटक आशिषको नाम बोकेर कार्की विश्वम्भरसमक्ष गएका थिए । तर विश्वम्भरले अत्यन्त जुनियर त्यसमाथि पनि चोलेन्द्रसँग नाम जोडिनएको कारण इन्कार गरेको श्रेष्ठको निजी सचिवालय स्रोतले बताएको थियो । सर्वोच्च ल्याउने योग्यता पुर्‍याउनकै लागि कार्कीले चोलेन्द्रसँग पानी बाराबार भएका तत्कालीन वरिष्ठ सिफारिस समितिका संयोजक प्रकाशमान सिंह राउतलाई प्रलोभनमा पारी सहमत गराएको गाइँगुइँ समितिमै चलेको थियो । चोलेन्द्रको नामै सुन्न नचाहने प्रकाशमान सिंह राउतले २०५५ सालको व्याचका अधिवक्ता अधिकारीलाई जबरजस्ती वरिष्ठ सिफारिस गरेका थिए । यो समाचार नेपाली पेनमा वरिष्ठको उपाधि नदिँदै उसैबखत प्रकाशित भएको थियो ।

बार अध्यक्षमा पनि बीचौलिया फ्याक्टर

जहिले सर्वोच्चको नियुक्तिको मेहेरो चल्छ तहिले काङ्ग्रेसको कोटामा तेर्स्याइने नाम हो विजय प्रसाद मिश्र । अघिल्लो पटकपनि उनको नाममा हल्ला नमच्चिएको होइन तर शेखर कोइराला ग्याङका सुनिलकुमार पोख्रेलले साम, दाम प्रयोग गरी बाजी मारेकोले मिश्र उत्तान्ट्याङ लागे । धनराज गुरुङ, ईश्वर खतिवडा र विश्वम्भरको टिम भएको बेला न्यायाधीश नियुक्तिमा के-कस्तो पैसाको खेल भयो बेलिबिस्तारसहित नेपाली पेनले श्रृङ्खलावद्ध खोज समाचार प्रकाशित गरेको थियो । हरिहर दाहाल, प्रेमबहादुर विष्ट, रमनकुमार श्रेष्ठ, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, टीकाराम भट्टराईहरूको सिन्डिकेटको सदाबहार साझा उम्मेदवारको रूपमा प्रस्तुत हुने गरेका विजय प्रसाद मिश्रले यसपटक आशिष अधिकारीलाई सर्वोच्च लान ज्ञानेन्द्र बहादुर कार्कीको कारण बार अध्यक्षको टिकट पाए । सरकारमा “एमाङ्ग्रेस गठबन्धन” भएपनि यसअघि परिषदको निर्वाचनमा एमाले-माओवादी गठबन्धन बन्यो । यसपाली पनि यसैले निरन्तरता पाउनेवाला थियो । माओवादीले रमनकुमार श्रेष्ठलाई अगाडि सारेपछि आफ्ना कट्टर आलोचक श्रेष्ठलाई नेतृत्व दिन प्रधानमन्त्री ओली तयार थिएनन् । ओलीको यो मनसुवा बुझेका सातिर कार्कीले विद्या भण्डारी तुरुप प्रयोग गरे । कार्की र विद्या भण्डारीबीच साइनो पर्छ । नातामा उनीहरू दाजु बहिनी हुन् । विजय प्रसाद मिश्रलाई बारमा थन्क्याउन पाए आशिष अधिकारीलाई सर्वोच्चको न्यायाधीशमा एकछत्र अगाडि सार्न सहज हुने भएकोले कार्कीले विद्या कार्ड ओलीतिर फ्याँके । निसाना सही ठाउँमा लाग्यो । ओली र देउबाबीच वार्ता गराएर डिएलए नामक संस्थाले कमिटी गठन गरेर उम्मेदवार टुङ्गो नलगाउँदै विजय प्रसाद मिश्रलाई बार अध्यक्षमा सरकारी उम्मेदवार बनाउन सफल भए । मिश्र त्रि.वि.का स्थायी प्राध्यापक पनि हुन् । यसरी जागिरेलाई बारको नेतृत्व दिन लागेकोमा लोकतान्त्रिक खेमाकै वकीलको ठूलो समूह तयार छैन । यसैबीच कार्कीको रणनीतिको कारण वरिष्ठ वकीलहरूको सिन्डिकेट भताभुङ्ग भएको छ ।

रमन श्रेष्ठ उम्मेदवार भएपछि सुशील पन्तदेखि न्यायाधीशलाई घुस ख्वाउँछु भनी खुलम्खुला टिभीमै अन्तर्वार्ता दिने शम्भु थापा र चण्डेश्वर श्रेष्ठ रमन कित्तामा र हरिहर दाहाल, प्रेमबहादुर खड्का मिश्र कित्तामा विखण्डित भएका छन् । यसपाली डिएलएको तर्फबाट लगभग एकछत्र उम्मेदवार यदुनाथ खनाल, राष्ट्रपतिका सल्लाहकार महसुर खेलाडी बाबुराम कुँवर, डिएलए अध्यक्ष सीताराम के.सी. र पूर्व अध्यक्ष योगेन्द्र अधिकारी समूहले अन्तर्घात गर्ने निष्चित छ । त्यसैगरी माओवादीको वर्षामान पुन समर्थक दीनमणि पोख्रेल समूह भने कुनै हालतमा पनि रमन श्रेष्ठलाई अध्यक्ष मान्न तयार नभएकोले फ्लोर क्रस हुने पक्का भएको वकील वृत्तमा चर्चा छ ।

कार्की र खड्काबीच रस्साकस्सी

भ्रष्ट्राचारमा अति गनाएका ज्ञानेन्द्र बहादुर कार्की पार्टीभित्र कुटिल र षड्यन्त्रकारीको रूपमा चिनिन्छन् । कान्छी श्रीमतीको आरजूसँगको नाता सम्बन्धलाई सधैँ नगदको रूपमा खर्च गर्न माहिर कार्की सातिर खेलाडी हुन् । उता यो गठबन्धनमा आफूले भाग नपाएकोमा देउबासँग ठुस्किएका सुर्खेती पूर्णबहादुर खड्का आफ्नो जिल्लावासी वकील अरूण पौडेललाई काङ्ग्रेसको कोटामा सर्वोच्च लान देउबालाई घुर्क्याउन गएपछि आशिषको लागि मार्ग प्रसस्त गर्न कल्याण श्रेष्ठलाई नेतृत्व दिने भनिएको संविधान संसोधन कार्यदलमा एमाले-काङ्ग्रेसद्वारा गठित दलीय टोलीमा काङ्ग्रेस तर्फबाट अरुणलाई पठाउन कार्कीले देउबालाई सुझाए । कार्कीको सल्लाह अनुसार कार्यदलमा आफ्नो चम्चालाई पन्छाएको भनी अरुण पौडेललाई सर्वोच्च लान खड्काको देउबासमक्ष दिनहुँ किचकिच हुने गरेको काङ्ग्रेस नेतृत्व पङ्क्ति बताउँछ । प्रकाशमान सिंह राउत प्राक्टिस गर्दाको “दियाद ल फर्म” का भएको कारण १५९ जना वरिष्ठ सिफारिस गर्दा राउतले  पौडेलको नाम अन्तिममा लुसुक्क घुसाएका थिए ।

लौन बहिनी सपनालाई सम्झाइदिनुपर्‍यो

चोलेन्द्रको बीचौलियाको दाग लागेका आशिष अधिकारीलाई जत्रोसुकै ठूलो बिटो खर्चेपनि सर्वोच्च ल्याइहाल्न प्रधानन्यायाधीश हिच्किचाएका छन् । त्यसमाथि परिषदमा राउत र सपना मल्लको ट्युनिङ मिल्दैन । उनीहरू सार्वजनिक समारोहमा मिलेको नाटक मञ्चन गरेपनि आन्तरिक रूपमा पानी बाराबारको स्थिति वा शितयुद्धमा छन् । काङ्ग्रेसमा कामगर्दा न्यायाधीश बन्न काङ्ग्रेस कोटामा पर्न राउतले पूर्णबहादुर खड्का मार्फत देउबालाई दबाब दिएका थिए । अहिले आरजूमार्फत देउबा प्रयोग गरेर आशिषलाई काङ्ग्रेस कोटामा सर्वोच्च लान राउतलाई दबाब दिने रणनीतिमा कार्की छन् । “पार्टीमा रक्सी खाएर खुट्टा टेक्नै नसकी ढल्ने, पिएसओले बोकेर गाडिभित्र हाल्नुपर्ने, मुद्दा हेर्दाहेर्दैमा राखेर बीचौलियासँग बार्गेनिङ गर्ने, दुईखुट्टा उभिएकी देख्नै नहुने” भनी महाभियोग समितिमा जवाफ दिँदा चोलेन्द्रले सार्वजनिक बेइज्जत गरेका कारण राउत उनै चोलेन्द्रको बीचौलिया आशिषलाई न्यायाधीश बनाउन सजिलै तयार छैनन् । आशिषको तर्फबाट बोरा बोकेर कार्की राउतकोमा धाइरहेको चर्चा छ । अघिल्ला प्रधानन्यायाधीश जस्तो न्याय परिषदमा एकछत्र कमाण्ड गर्न सक्ने हैसियतमा राउत नभएको समीकरण बुझेका कार्की बोराको भरमामात्र नाउ पार लगाउन सक्नेमा सशङ्कित छन् । तसर्थ उनी “लौन सपनालाई सम्झाइदिनुपर्‍यो“ भनी बहिनी विद्या भण्डारीलाई खुसामद गरिरहेका छन् । एकातिर मुखमै आएको प्रधानन्यायाधीश बन्नपनि भविष्यमा आफ्नो सहयोग चाहिने हेक्का सपनालाई दिलाउन कार्की विद्याको कान फुकिरहेका छन् भने अर्कोतर्फ आरजूमार्फत साँढेसत्र किलोका अरू बोराहरू सपनाकोमा पठाउन पनि लागि परेका अधिकारी निकट स्रोत बताउँछ । सर्वोच्चको न्यायाधीशमा कल्याणले सिफारिस गरेपछि ४/५ महिना अलपत्र परेको ११ जनाको सिफारिस सपना र आरजू एनजिओमा सँगै काम गर्दाको सम्बन्ध भँजाएर पार लागेको दृष्टान्त सपनालाई हेक्का दिलाउन र थप दबाब दिन कार्की आरजूलाई पेलिरहेका छन् ।

बारको निर्वाचन पछिमात्र सर्वोच्चमा सिफारिस

लेनदेनको आधारमा सर्वोच्चमा नियुक्ति भएको खुलासा गरेको कारण अदालतको अबहेलना मुद्दा खेपिरहेका गोपालकृष्ण घिमरेको नेतृत्वको बारको कार्यकाल सक्किएर आउने नयाँ नेतृत्वमा रमन श्रेष्ठ आएमा नियुक्तिपश्चात् पुनः न्याय परिषद नियमावली संसोधनको इस्यु निकालेर बार आन्दोलनमा जाने डरले विजय मिश्रलाई येनकेन प्रकारेण जिताउने दबाबमा प्रधानन्याधीश राउत पनि भएको बुझिएको छ । यसको लागि प्रधानन्यायाधीश राउत आफ्ना हर्ताकर्ता वकील परशुराम कोइराला, योगेन्द्र बहादुर अधिकारी लगायत परिचालन गरिरहेको सुनिन्छ । मिश्रले जितेमा बारले न्यायाधीश नियुक्तिको विरोध नगर्ने र आफूलाई टिकट दिलाउन सहयोग गरेको र निर्वाचन खर्च डोनेट गरेको गुन तिर्न पनि मिश्रको सहयोग आशिषलाई हुने सिण्डिकेटमा तय भइसकेको कारण सर्वोच्चमा जतिसुकै मुद्दाको चाप भएपनि, न्यायाधीश संख्या कम भएपनि बारको निर्वाचनसम्म नियुक्ति धकेल्ने दाउमा प्रधानन्यायाधीश राउत छन् । अझ राजावादीहरूको थप कृयाकलाप पनि हेर्दै जाने, यदि राजा आइहालेमा सर्वोच्च र उच्चको नियुक्तिमा राजासँग सौदाबाजी गर्ने छिर्के दाउमा पनि राउत रहेको राउतनिकट नवबीचौलिया वकील वृत्तमा गाइँगुइँ सुनिन्छ ।

प्रतिक्रिया