कुलमानलाई बर्खास्त गर्ने निर्णय लिनै लाग्दा के ले रोक्यो

काठमाडौं, २७ फागुन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयबाट सरकार तत्काल ब्याक भएको छ । घिसिङसँग ऊर्जा मन्त्रालयले स्पष्टिकरण माग्ने देखि कारबाही गरेर बर्खास्त गर्ने सम्म तयारी भएकोमा सरकार एकाएक ब्याक भएको हो ।
कुलमानले लोडसेडिङ हटाएको जस लिएर लोकप्रीय बनिरहेको र यही बेलामा सरकारविरोधी गतिविधि बढिरहँदा असर पर्ने भएपछि सरकार ब्याक भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच कुराकानी भएपछि तत्काल कुलमानलाई नहटाउने निर्णय बनेको हो ।
ऊर्जामन्त्री दिपक खड्काले कुलमानले गरेका भनिएका कतिपय भ्रष्टाचारको फेहरिस्ता निकालेर ओली र देउवालाई बुझाएको स्रोतले बतायो । ठूलो टेन्डर देखि विद्युत सम्झौतासम्ममा चलखेल गरेको रिपोर्ट बनेको छ ।
कुलमान माओवादी अध्यक्ष प्रचण्डसँग निकट मानिन्छन् । माओवादीकै बलले उनले दुईपटक नियुक्ति पाए । उनको सम्बन्ध राप्रपा नेता बुद्धिमान तामाङसँग पनि छ । राजावादीको माहोल बनिरहँदा कुलमानलाई हटाउँदा काउन्टर हुनसक्ने निष्कर्षमा समेत पुगेका छन् ओली र देउवा ।
कुलमानले राजनीतिक ग्राउन्ड बनाइरहेको विषय पनि चर्चामा छ । उनी बौद्ध क्षेत्रबाट चुनाव उठ्ने तयारीमा छन् । माओवादी या राजावादी कुन रोज्ने हुन् ? यसमा पनि चासो छ ।
लोकप्रीयताको बलमा कुलमानले आफ्ना अन्धकार पाटाहरु छोपिरहेका छन् । यसको तथ्यप्रमाणसहित रिपोर्टहरु बनिसकेको बुझिएको छ ।