डा. संगिता मिश्रलाई सचिव बढुवामा रोकेर ओली देखि आरजुसम्मको महिला दिवसमा ठूला ठूला कुरा

काठमाडौं, २४ फागुन । योग्यता क्रममा एक नम्बरमा रहेकी डा. संगिता मिश्रलाई सचिव बढुवामा रोकेको एक हप्ता नबित्दै अन्तर्राष्ट्रिय महिला दिवस परेको छ । यो दिवसमा भने प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उनको क्याबिनेटका मन्त्रीहरुले महिला अधिकारका ठूला कुरा गर्दै शुभकामना दिएका छन् ।
शुभकामना दिनेमा परराष्ट्रमन्त्री डा। आरजु देउवा पनि छिन् । उनले महिलामाथि हुने सबै किसिमका विभेदजन्य तथा अवरोधहरु तोड्न आवश्यक रहेको भनेकी छिन् । तर, उनी समेत सहभागी क्याबिनेटले संगितालाई बढुवामा रोकेर डा। विकास देवकोटालाई स्वास्थ्य सचिव बनाएको छ यसै हप्ता ।
महोत्तरीकी मिश्र लामो संघर्षबाट स्वास्थ्य मन्त्रालयको सहसचिव बनेकी हुन् । तर, उनी बढुवामा रोकिइन् । महिला त्यसमाथि पनि मधेशी मूलकी मिश्रको बढुवा रोकेकोमा सर्वत्र आलोचना भइरहेको छ । तर, ओली देखि आरजुसम्म महिला अधिकारका ठूला कुरा गरिरहेका छन् । कुरा गर्ने व्यवहारमा नउतार्ने शैली प्रष्ट देखिएको छ ।
ओलीले केही दिनअघि मात्र आफ्नोबारे पुस्तक विमोचनमा धर्मपत्नी राधिका शाक्यको गुणगान गाए । महिलाको भूमिकाको बयान गरे । तर, जब सचिव बढुवा आयो तब महिलाको नाम काटिदिए । यसबाट पनि गर्ने एउटा बोल्ने अर्को शैली नेताहरुमा देखिएको छ ।