१९ फाल्गुन २०८१, सोमबार | March 3, 2025

जेलेन्स्कीलाई बेलायत र फ्रान्सले कहिलेसम्म थेगिदेलान् ?


2.2k
Shares

एजेन्सी, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको नोकझोकपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की सिधै बेलायत ओर्लिए । उनले त्यहाँ बेलायतका प्रधानमन्त्री किर स्टारमरसँग भेटे । स्टारमरले युक्रेनलाई साथ दिने बताएर २ अर्ब डलरभन्दा बढीको सहायता घोषणा गरे ।

स्टारमरले पूर्व सोभियत राज्यहरु इस्टोनिया, लात्भिया र लिथुआनियाका नेताहरुसँग भिडियो कन्फरेन्स गरे युक्रेन मामलामा । त्यसपछि युक्रेनप्रति ऐक्यवद्धता र सहयोगको माहोल तयार गर्न लागे । उनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनलाई युक्रेन सम्मेलनमा बोलाइसके । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेटे ।

रुसविरुद्ध यूरोपका शक्तिशाली देशहरु फ्रान्स, बेलायत, इटाली, स्पेन, जर्मनीलगायत एकतावद्ध हुन खोजिरहेका छन् । ट्रम्पको युक्रेनप्रतिको कडा नीति र यूरोपमाथि गम्भीर आरोपले नयाँ घटना विकास भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यूरोपले अझै एक वर्ष युद्ध लम्ब्याउन खोजेको भनिसके ।

अमेरिकाले साथ नदिने भएबाट युक्रेनको भरोसा अब यूरोपका शक्तिशाली देशमाथि मात्र बाँकी छ । बेलायत अझै युद्धमा रकम खर्चिन तयार देखिएको छ । फ्रान्स पनि समर्थक नै देखिन्छ युक्रेनको । जर्मनी भने सतर्क छ । यस्तो अवस्थामा यूरोपको सबैभन्दा शक्तिशाली देश बेलायतले युक्रेन मामलामा प्रत्यक्ष संलग्नता देखाउन थालिसकेको छ ।

दुई वर्षभन्दा बढी लम्बिइसकेको युद्धमा अमेरिकाले ३५० अर्ब डलर र यूरोपले २०० अर्ब डलर मात्र खर्च गरेका छन् । अब यूरोपलाई धान्न कठिन बन्दैछ । यस्तो अवस्थामा बेलायत र फ्रान्सले जेलेन्स्कीको सत्तालाई कतिञ्जेल थेगिदेलान् ? चासो बनेको छ ।

प्रतिक्रिया