१७ फाल्गुन २०८१, शनिबार | March 1, 2025

राजाले जब योगी नरहरिनाथलाई पक्रन खोजे…


2.9k
Shares

-श्याम खनाल: गुरु शब्दले पौरस्त्य जगत्‌को क्षेत्रमा उच्च स्थान पाएको छ । यसरी उच्च स्थान पाएको गुरु शब्दको अर्थ हुन्छ – अविद्याको नाश गरेर ज्ञान दिने व्यक्ति । हुन त अङ्ग्रेजीको टिचर शब्दलाई यसको प्रयायवाचीका रूपमा हेर्ने गरिन्छ, तर टिचरले गुरु शब्दको पूर्ण अर्थ गर्न सक्दैन । गुरुको गुरुत्त्वका बारेमा हाम्रा शास्त्रहरूले ठूलो महत्त्व बताएका छन् ।

विद्याकि अधिष्ठात्रीका रूपमा माता सरस्वती मानिए जस्तै विद्याका गुरु चाहिँ भगवान् शिवलाई मानिएको छ । त्यस्तै शङ्कराचार्य परम्परामा आद्यगुरुका रूपमा भगवान् नारायणलाई पुजिएको छ । त्यसैले पनि गुरुको गुरुत्त्व अत्यन्तै माथि रहेको छ । यसै सिलसिलामा हामी नेपालीहरूको विशेष सम्बन्ध गुरु गोरक्षनाथसँग रहेको छ । नेपाली रैथाने भाषामा गोरखनाथ भनिए तापनि गाईको रक्षा गर्ने गोरक्षनाथकै कृपाले नै गोरक्षार्थ प्राचीन गोपालहरूका समयदेखि नै अस्तित्वमा रहेको तर पछि सङ्कुचित हुन पुगेको गोरखा राज्यको पुनर्निर्माण हुँदै पुनः नेपाल राष्ट्रको विकास भएको हो भन्ने मान्यता रहिआएको छ । यिनै गोरक्षनाथको गुरुशिष्य परम्पराबाट दीक्षित योगी नरहरिनाथ नेपालकै साझा गुरुका रूपमा राष्ट्रगुरु हुन पुग्नुभएको हो । यसरी उहाँ नेपाल राष्ट्रमा बस्ने सम्पूर्ण जातजाति एवम् धर्मावलम्बीहरूकै साझा राष्ट्रगुरु कसरी हुनुभयो र नेपाल राष्ट्रका सम्बन्धमा उहाँको कस्तो किसिमको योगदान रहेको छ भन्ने प्रश्न उहाँका बारेमा नजानेकाहरूले उठाउनु स्वाभाविकै हुन जान्छ । त्यसैले पनि यसका वारेमा केही भन्नु यस लेखको मुख्य प्रयोजन हुन गएको छ । वि.सं.१९७१ फाल्गुन १७ गतेका दिन कालिकोटको लालुगाउँमा आमा गौरादेवी र बुबा ललितसिंह ऋक्सेन थापाको माइलो छोराका रूपमा जन्मिएका बलवीरसिंह ऋक्सेन थापा २० वर्षकै उमेरमा योगी बन्नुभएको हो ।

जुम्ला जिल्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीबाट नाथ परम्पराअनुसार दीक्षित भएपछि उहाँ योगी नरहरिनाथ बन्न पुग्नुभएको हो । नेपाल तथा भारतका विभिन्न गुरुकुलहरूबाट वेद, व्याकरण आदि विषयहरूको गहिरो अध्ययन गर्नुभएका उहाँ पशुपतिनाथको पारिपट्टी मृगस्थलीमा रहेको गोरक्षपीठका पीठाधीश एवम् धर्मरक्षार्थ स्थापित बृहद् आध्यात्मिक परिषद्का अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले नेपालआमाका प्रति गर्नुभएको अनगन्ति सेवा त यी दुई चारओटा शब्दका माध्यमले के पो गर्न सकिन्थ्यो र ? तर पनि मेरो सामर्थ्यले भ्याएसम्म र सम्झेसम्मका उहाँका योगदानका विषयलाई निम्नलिखित बुँदाहरूका माध्यमले केही स्पष्ट पार्ने जमर्को गरेको छु – १. वैदिक साम्यवाद दर्शनका द्रष्टा राणाशासन एवम् राजाको सक्रिय कालमा पनि जनताका दुःखहरू शासक वर्गद्वारा सम्बोधित भएका थिएनन् । त्यसैले ती कुराहरूलाई लिएर जनताहरू जाग्नु त सामान्य नै थियो । तर जनता जगाउने नाममा विभिन्न विदेशी वादहरूका माध्यमले यहाँका धर्म, संस्कार, संस्कृति निमिट्यान्न पार्ने योजना विदेशी संस्थाहरूले बनाए एवम् हाम्रा नेता भनिनेहरू पनि त्यसैका पिछलग्गू हुन पुगे । जर्मनीमा जन्मिएका दार्शनिक कार्ल मार्क्सले उनका देशमा पादरीहरूले गरेका ज्यादतिका विरुद्धमा जागरणका लागि ल्याइएको आर्थिक साम्यवादको नारालाई नेपालमा कम्युनिष्टहरूले मार्क्सवादका रुपमा त काङ्ग्रेसले समाजवादका रूपमा लिएर आएका थिए । त्यो दर्शन पाश्चात्त्य देशका लागि उपयुक्त नै थियो । पादरीहरूले पाश्चात्त्य देशमा ज्यादती गरेका कुराहरूलाई यहाँ पनि त्यस्तै खालको भाष्य निर्माण गरी यहाँको हाम्रो धर्ममाथि नै हमला गर्ने काम गर्ने काममा केही मानिस लागेका थिए ।

उनीहरूले पाश्चात्त्य देशमा जस्तै गरी यहाँ पनि विकासको बाधक भनेका नै हाम्रा वैदिक सभ्यताहरू पनि हुन् भन्ने खालले जनै र टुप्पी काट्ने काम घुमाएर विस्तारै गर्दै थिए । यस्तो अवस्थामा दार्शनिक योगी नरहरिनाथले यसबाट कालान्तरमा हुने नकारात्मक असरको महसुस गरी यस लोक र परलोकको समेत चिन्तन गरी संसारमा रहेका सबै प्राणीहरूको सुख चाहने वेदोक्त वैदिक साम्यवादको व्यख्या गरी जनताहरूमा चेतना छर्ने काम गर्नुभएको थियो । उहाँद्वारा लिखित शिखरिणी यात्रा भन्ने पुस्तकमा वैदिक साम्यवाद दर्शनका बारेमा स्पष्ट व्याख्या गरिएको छ । २. नेपाल संस्कृत विश्वविद्यालयका सर्जक नेपाल पछि परेको असल शिक्षा, दीक्षा नहुनु हो भन्ने राष्ट्रगुरु विदेशी शिक्षाको घोर विरोधि हुनुहुन्थ्यो ।

भाषा जुन पनि जान्न सकिन्छ तर भाषाका नाममा नेपालीहरूलाई अङ्ग्रेजी परम्पराको गुलामी बनाउनु हुँदैन भन्ने दृढविचार उहाँमा रहेको थियो । २०२८ सालमा नयाँ शिक्षा लागु हुने वेलामा उहाँले त्यसको ठुलो विरोध गर्नुभएको थियो । हुन पनि २०२८ सालसम्मका पाठ्यक्रममा हामी ऋषिमुनिका सन्तान हौँ भनेर लेखिएकामा त्यसपछि लागु भएका पाठ्यक्रममा हामी वाँदरका सन्तान हौँ भनेर लेखिन थालेको पाइन्छ । त्यसैले पनि उहाँले २०२८ सालपछिको शिक्षालाई वाँदरे शिक्षाका रूपमा परिभाषित गर्नुभएको थियो । अतः हाम्रै सभ्यताको जननी संस्कृत शिक्षाका माध्यमले देशमा शिक्षा दिनुपर्दछ भन्दै उहाँकै विशेष पहलमा दाङ्‌मा २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो । तर संस्कृत विश्वविद्यालयले राष्ट्रगुरुको सपनाअनुसार काम गरेको छ या छैन, त्यहीँ कार्यरत हामीले जान्न पर्ने कुरो हो । गरेको भए त राम्रै भयो तर नगरेको भए एक सिद्धयोगीले चिम्टा गाडेर स्थापना गरेको विश्वविद्यालय भित्रका पदाधिकारी एवम् हामी सबै कार्यरतहरूको अन्त्येष्टि चाँडै नै नहोला भन्न सकिँदैन । ३. अन्वेषक, आशुकवि एवम् इतिहासविद् योगीजी कुशल अन्वेषक हुनुहुन्थ्यो । उहाँले यहाँ बोलिने भाषा-भेष जाति-जनजातिका बारेमा विशिष्ट अन्वेषण गर्नुभएको छ । विदेशीहरूले अन्टपन्ट लेखेर हामीलाई सिकाइएकाहरूले अहिले आएर उहाँद्वारा गरिएका अन्वेषणहरूको खोजी गर्ने बेला आएको छ । त्यस्तै इतिहासका कुराहरूलाई पनि उहाँले लिपिबद्ध गरिदिनुभएको छ । ती इतिहास एवम् अन्वेषणका विषयलाई आफुलाई आशुकविका रूपमा पनि चिनाउँदै संस्कृत एवम् नेपाली पद्यका माध्यमले प्रस्तुत गरिदिनु पनि उहाँको अर्को ठूलो विशेषता रहेको छ । देव एवम् मानवको सृष्टिका विषयमा उहाँले यसरी एउटै पद्यका माध्यमले स्पष्ट पारिदिनुभएको छ – हिमालैमा जन्मे जनक जननी ती शिव शिवा हिमालैमा झुल्के रवि शशि उज्यालो जग भयो । यहीँ ओम् स्वस्ति श्री अ क सकल वर्णावली भयो यताबाटै टाडा पर पर गए मानवहरू ।।

त्यस्तै अहिले अबुझहरूले अनावश्यक रूपमा अनर्थ गर्ने हिन्दूका बारेमा पनि यसरी स्पष्ट पारिदिनुभएको छ – न भालू भ्यागुत्ता वनकर न वानर्न त अरु थिए पूर्खा हाम्रा ऋषि मुनि र द्यौता मनुहरू । न हामी आएका भटकि कहिँ बाटै प्रकट यो हिमालै हो हाम्रो उदय हिमधु हिन्दूहरूको ।। ४. स्पष्टवक्ता एवम् राष्ट्रभक्त उहाँले आफुलाई लागेको विषय स्पष्टसँग प्रस्तुत गर्नुहुन्थ्यो । चाहे राजा हुन् कि नेता हुन् उनीहरूका बारेमा सत्य कुरा बोल्न कुनै हिच्किचाहट गर्नुहुन्नथ्यो । विदेशीहरूका इसारामा देश चलाउन खोजेको अवस्थालाई जानी ‘राजा हुनेले अरूलाई छाता ओडाउँदै हिँड्ने होइन कि आफै छाता ओडेर हिँड्नुपर्दछ । यसो गर्न नसके मार्गप्रशस्त गरिदिनुपर्दछ’ भनेर राजामाथि प्रश्न उठाउँदा उहाँलाई तात्कालिक राजाको शासनको बेला देश छोडेर पनि केही समय निर्वासित हुनु परेको थियो । त्यस्तै २०१७ सालअघि त्यस समयमा बनेको सरकारका केही मन्त्रीहरूले गरेको राष्ट्रघाती कामको पनि विरोध गर्दा तात्कालिक समयमा जेलजीवन पनि विताउनु परेको थियो । हाम्रा नेताहरू विदेशीका अन्याय सहन गरी ङिच्च परेर फर्कने गर्दछन् । तर उहाँ भारतका गोरखपुरमा गएर पनि ‘गोरखपुर हमारा है नेपालका है’ भन्नुहुन्थ्यो । त्यस्तै उहाँ एक सच्चा राष्ट्रभक्त नेपाल आमाका सुपुत्र हुनुहुन्थ्यो । त्यसैले पनि उहाँलाई भारत सरकाले ठूला ठूला पद दिएर उतै राख्न खोजेता पनि उहाँ एक छाक खाएर भए पनि देशकै माटोमा विलाउने प्रण गरी नेपाल आउनुभएको थियो । उहाँका भावना उहाँकै कविताद्वारा यसरी प्रकट भएको थियो – आदर्श हाम्रो ओइलायो भने पूर्खाको सराप समूल नाश गर्नेछ हामी पर्नेछौँ धराप ।

यो भूमि आमा हिउँचुली दूध दूधका छहरा पिएर हामी काखमा खेली बसेका पहरा । यसैमा जन्म्यौँ यसैमा हुर्क्यौँ यसैमा विलाऊँ फुटेका भाइ जुटेर सबै फुटेको मिलाऊँ । ५. वैदिक, बौद्ध, किराँत सबैका गुरु हामी नेपालमा बस्ने वैदिक, बौद्ध र किँरातहरू नै यहाँका रैथाने धर्मवलम्बीहरू हौँ । बुझ्दै गयो भने यी धर्मावलम्बीहरूमा कुनै भेद नै रहेनछ । पूजाका पद्धति एउटै रहेछन् । मात्र भाषा र इष्टदेवमा मात्र भेद रहेछ । हिन्दूहरूले मान्ने शिव, बौद्धहरूले मान्ने बुद्ध र किराँतहरूले मान्ने किराँतेश्वर एउटै चिज रहेछन् । त्यसैअनुसार नै नेपालमा मानिँदै आएको थियो । प्रजातन्त्रपछि बौद्धहरूलाई अलग मान्न थालियो भने योगी नरहरिनाथको देहान्तपछि विशेषत नेपाल राष्ट्र गणतन्त्रका रूपमा गइसकेपछि किँरातहरूलाई पनि भिन्न रूपमा मान्न थालिएको छ । योगी नरहरिनाथले आयोजना गर्ने प्रत्येक कोटिहवन महायज्ञमा हिन्दू, बौद्ध एवम् किराँतहरू पनि हवन गर्नका लागि राखिएका हुन्थे । उनीहरूले पनि आ-आफ्ना गायत्री मन्त्रद्वारा हवन गर्ने गर्दथे । योगी नरहरिनाथमा शिखा सूत्र धारण गरेर ‘नमः स्वस्ति स्वाहा’ या कपाल पुरा खौरेर ‘ॐ मणिपद्मे हुम्’ भन्दै ब्रह्म अथवा शून्य जुनसुकैलाई माने पनि एउटै कुरा हो भन्ने मान्यता थियो । त्यसैले उहाँले यसरी लेख्नुभएको पनि छ – नमः स्वस्ति स्वाहा भणतु मणिपद्मे हुमिति वा प्रकामं खं ब्रह्म प्रजपतु च शून्यं स्थिरधिया । शिखासूत्रे धृत्वा मसृणमथ कृत्वा निजशिरो हिमाले वा माले निवसतु जनो राष्ट्रियतया ।। ६. भविष्यवेत्ता सिद्धयोगी योगी नरहरिनाथ सामान्य कानचिरेका जोगी मात्र हुनुहुन्नथ्यो । उहाँ त भविष्यको पुरा विचार भएका एक सिद्धयोगी हुनुहुन्थ्यो ।

राजाले उहाँलाई पक्रनका लागि वारेन्ट जारी गरेका बेला बेलुका काठमाडौँ देखिएका व्यक्ति सवारीसाधनको गतिलो व्यवस्था नै नभएका समयमा पनि अर्को दिन सबेरै गोरखपुर पुग्नुभएको थियो । त्यस्तै उहाँका लागि जुम्ला र काठमाडौँ पानी पँधेरा जस्ता थिए । यो कुरा उहाँले कहिले पनि प्रकट गर्दै हिँड्नुभएन तर उहाँलाई जानेकाहरूले पूर्ण अनुभव गरे । त्यस्तै उहाँ भविष्य जान्ने भविष्यवेत्ता पनि हुनुहुन्थ्यो । २०५७ ताकाको समयमा काठमाडौँको टुँडिखेलमा भएको धर्मजागरण अभियानमा राजदरबारका वारेमा गरेको भविष्यवाणी मैले पनि सुनेको थिएँ । उहाँले त्यस समयमा राजदरबारमा विदेशी रक्सी खाने गरेकाले त्यस्तै तालमा रम्ने राजसंस्थालाई खबरदारी गर्दै यदि यो काम तत्काल बन्द नगरे नाश अवश्यम्भावी भएको बताउनुभएको थियो । नहोला आखिरी त्यत्रो राजसंस्था नै विदेशी रक्सीको भोजका माध्यमले अन्त्य हुन पुग्यो । त्यस्तै उहाँको अर्को भविष्यवाणी शिखरिणी यात्रा भन्ने पुस्तकमा रहेको छ । त्यहाँ उहाँले हिन्दू राष्ट्र नेपालका लागि उच्च पहिचान भएको र यसलाई त्यागे नेपालको अन्त्य हुने र नेपाली जातिको पनि ठूलो ग्रहदशा लाग्ने भविष्यवाणी गर्नुभएको छ । अहिलेको अवस्था देख्दा त्यसो नहोला भन्ने आधार नै छैन । अन्त्यमा यी बुँदाहरू बाहेक पनि उहाँ अनगन्ति विशेषताले युक्त हुनुहुन्थ्यो । संस्कृत विद्यामा त उहाँ पारङ्गत नै हुनुहुन्थ्यो । यसबाहेक नेपालका विभिन्न भाषिका साथै अङ्ग्रेजी र उर्दू पनि उहाँले राम्रैसँग जान्नुहुन्थ्यो ।

मान-अपमान एवम् सुख-दुःखजन्य परिवर्तन उहाँमा कहिल्यै देखिएन । छुवाछुत र उत्पीडनका काममा अहिले पार्टीहरूले जति गरेका छौँ भन्दछन्, यो भन्दा सयौँ गुना काम त योगी नरहरिनाथले एक्लै गर्नुभएको थियो । जिउँदो हुँदासम्म राजा, नेता एवम् जनता कसैले पनि चिन्न नसके पनि २०५९ फाल्गुन १४ गते भएको निधनपछि भने उहाँको अभाव नेपालमा झन् टड्कारो रूपमा देख्न थालिएको छ । यस किसिमका राष्ट्रनिधि राष्ट्रसपुत राष्ट्रगुरु योगी नरहरिनाथद्वारा लेखिएका मध्येका यी निम्नलिखित कुराहरूको मात्र अङ्गिकार गर्न सकियो भने पनि हामी नेपाली सुखी र समृद्ध बन्न सक्थ्यौँ – * समस्त दुर्व्यसन र फेसनको निषेध गरौँ । * प्रत्येक मानव सर्वदा, सर्वथा, सर्वत्र सत्कर्ममा सक्रिय रहौँ । * आफ्नै भेष-भुषा, भाषा, भजन, भोजन, सभ्यता, संस्कृति र धर्ममा अटल रहौँ । * सबै प्रकारका खनिज पदार्थ विकास गर्ने अधिकार प्रत्येक गोर्खाली नागरिकहरूलाई मात्र दिऊँ । * ऊर्वरा धरातलको कुनै भाग कहिल्यै बाँझो नराखौँ । * खोलो पैरो थामौँ र डढेलो बन्द गरौँ । * गाई वस्तुलाई डाले घाँस, आयुर्वेदिक औषधी, वनस्पति जडिबुटी, कन्दमूल, फलफूलको बृद्धि गरौँ र खोलो पैरो थाम्न वर पीपल समी वैँस आदि वृक्ष रोपण गरौँ । * सबै छहराहरूमा लघुविद्युत् योजनाद्वारा विद्युत् उत्पादन गरी इन्धन आदिको काम चलाऊँ । * कुटीर उद्योग, घरेलु व्यवसाय प्रत्येक गाउँमा चलाऊँ । * दिनरातलाई तीन भाग गरी एक भाग अर्थात् ८ घण्टा शारीरिक स्वास्थ्य, एक भाग शारीरिक श्रम र एक भाग बौद्धिक श्रमका लागि सदुपयोग गरौँ । * अकर्मण्य एक क्षण पनि नराखौँ । * पशुपालन बृद्धि गरी इन्धन, मल, गोबरग्याँस आदिको उत्पादन गरौँ । * विदेशी लिपी, भाषा संस्कृति, सभ्यता र धर्मको शिक्षा दीक्षा निषेध गरौँ । * देशको सबै प्रकारको धन देशभित्रै राखौँ । * विदेशी व्यापारीहरूलाई देशमा पस्न र बस्न नदिऊँ । * शुद्ध इतिहास, भूगोल, आदिको पठन-पाठन सबैले गरौँ । * दिव्योपदेशको मनन गरौँ । अस्तु ।

प्रतिक्रिया