१५ फाल्गुन २०८१, बिहिबार | February 27, 2025

वीरेन्द्र शाहको जग्गा लिजको चलेखेलमा ओली-देउवा रिझाएका अर्जुन


February 27, 2025
498
Shares

काठमाडौं, १५ फागुन । पूर्वसचिव अर्जुन कार्की नेपाल विद्युत प्राधिकरणको एमडी बन्ने दौडमा छन् । कुनैपनि बेला सरकार तलमाथि हुनसक्ने भएकाले कार्की केपी शर्मा ओली प्रधानमन्त्री हुँदाकै समयमा एमडी बन्न कुलमान घिसिङलाई हटाउने दाउपेचमा संलग्न छन् । यसमा ठूलै गिरोह संलग्न छ ।

कार्की पैसा कमाउन माहिर छन् । नेपाल सरकारको सचिव हुँदा उनी जहाँ बसे त्यहाँ शक्तिकेन्द्र रिझाउन जुनसुकै काम गर्न पछि हटेनन् ।

दिवंगत राजा वीरेन्द्र शाह र उनको परिवारको नामको सम्पत्ति नेपाल ट्रष्ट बनाएर भोगचलन भइरहेकोमा त्यसमाथि राजनीतिक शक्तिले आँखा गाड्यो । व्यापारीसँग मिलेर ती सम्पत्तिमा रजाईँ चलिरहेको छ अहिले । त्यसमा पनि पूर्वसचिव कार्की संलग्न छन् ।

दिवंगत व्यापारी आङरिरिङ शेर्पालाई दरबारमार्गको झण्डै दुई रोपनी जग्गा नियमविपरित ३३ वर्षका लागि लिजमा दिलाउन उनै कार्कीले भूमिका खेलेका थिए । योजनावद्ध तरिकाले कार्कीलाई नेपाल ट्रष्टको सचिव बनाएर लगिएको र पूर्व राजप्रसाद सेवाबाट आएका सहसचिव लेखबहादुर कार्कीसरँग मिलेर टेन्डर निकाल्न लगाई थामसेर्कु ट्रेकिङ प्रालिलाई पूरक पे गर्न लगाई लिजमा दिएका थिए । १४ असार २०७३ मा उक्त जग्गा लिजमा दिन सूचना निकालिएको थियो ।

ताहाचल, कमलादी र हेटौंडाको जमिन लिजमा दिने टेन्डरसँगै दरबारमार्गको पनि टेन्डर निकालिएको थियो । अन्य रद्द गरी दरबारमार्गको मात्र आङछिरिङको कम्पनी थामसेर्कुलाई दिइएको थियो ।
नेपाल ट्रष्टको जग्गा शेर्पाको कम्पनीलाई धमाधम लिजमा दिलाउन तत्कालीन सचिव कार्कीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि रिझाएका थिए । दिवंगत आङछिरिङ शेर्पा त ओलीका प्रीयपात्र नै थिए । ओली र देउवा दुवैलाई एक दशक अघि नै रिझाउँदै आएका कार्कीलाई विद्युत प्राधिकरणको एमडी बनाउन दुवैबाट ग्रीन सिग्नल आइसकेको छ । यसका लागि कुलमानलाई कसरी हटाउने भन्नेमा अड्किएको छ ।

कार्कीले तामाकोशी जलविद्युत परियोजनाको लागत ४५ अर्ब बढाउने भूमिका पनि खेलेका थिए । २०६३ मा सिंचाई विभागको सहसचिव हुँदा प्राधिकरणको नेतृत्व सम्हालेका थिए । दुई वर्ष नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेर दैनिक २ करोडको विद्युत चुहावट हुने गरी कमशल ट्रान्सफरमर खरिद गराएर भ्रष्टाचार गरेका थिए । अर्कोपटक १० महिना प्राधिकरणको नेतृत्वमा पुगेर ४५६ मेगावाटको तामाकोशीको लागत बढाएर मोटो कमिशन भ्याए ।

प्राधिकरणलाई बुझेका मात्र नभई देउवा र ओलीलाई समेत विगतमा रिझाइसकेका कार्कीले भने विद्युत प्राधिकरणको एमडी बन्ने दौडमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, उनी विद्युतमा हुने चलखेलमा भित्री खेलाडी बन्दै आएका छन् ।

प्रतिक्रिया