१२ फाल्गुन २०८१, सोमबार | February 24, 2025

सेनाले के के देख्यो चुनौती


February 24, 2025
498
Shares

काठमाडौं, १२ फागुन । नेपाली सेनाले महाशिवरात्रीमा २६२औं सेना दिवस मनाउनुपूर्व ११ फागुनमा चुनौती र प्रगतिबारे जानकारी गरायो पत्रकार सम्मेलनमार्फत् । एक दर्जन जर्नेलहरु उपस्थित भएको पत्रकार सम्मेलनमा विश्वमा आएको बदलिंदो राजनीतिक परिस्थितिबाट नयाँ चुनौती आउनसक्नेमा सतर्क रहेको स्पष्ट पार्यो । यसका लागि नयाँ रणनीति बनाइने समेत खुलायो ।

सेनाका उपरथी प्रेमध्वज अधिकारी, युद्धकार्य निर्देशक सहायकरथी रविन्द्र खत्री, प्रवक्ता सहायकरथी गौरवकुमार केसीलगायतले परिस्थितिबारे बोले । उपरथी प्रेमध्वज अधिकारीले भूराजनीतिको असर नेपालमा पनि परिरहेको भन्दै त्यसमा कसरी अघि बढ्ने भन्नेमा चिन्तन गरिरहेको खुलाए । प्रवक्ता सहायकरथी गौरवकुमार केसीले विश्वमा उत्पन्न नयाँ परिस्थितिको प्रभावबारे अध्ययन गरिरहेको बताए । यसबाट सेना अमेरिकामा डोनाल्ड ट्रम्पको पछिल्ला कदमले नेपालमा परिरहेको असरमा चनाखो रहेको बुझ्न सकिन्छ ।

अमेरिकाले दिएको सहयोगको दुरुपयोग र त्यसको खुलासा ट्रम्पले नै गरिदिए । नेपाली सेना देशको धर्म, संस्कृति, इतिहास, पर्व, महापुरुष, एकताको प्रतिरक्षामा पनि उत्तिकै गम्भीर देखिन्छ । तर, विदेशी रकम नास्तिकता फैलाउन र नियोजित स्वार्थका एजेन्डा लाद्न प्रयोग भएको सप्रमाण खुलासा भएपछि सेना गम्भीर भएको हुनुपर्छ । सेनापति अशोकराज सिग्देलले यो घटनाको खुलासा भएपछि निकै गम्भीरता देखाएको बुझिएको छ ।

सेनाले फाष्ट ट्रयाक निर्माणमा रुख काट्न मात्र ११ महिना लाग्ने बताइसकेको छ फाष्ट ट्रयाकको काम समयमै नसकिने उक्त आयोजना हेर्ने जर्नेल कमलविक्रम शाहले नै घुमाउरो तरिकाले बताइसके । अहिलेसम्म ३८ प्रतिशतमात्र कम सकिएको छ । सेनाले विद्यमान कानून र सरकारी निकायको ढिलासुस्तीलाई पनि जिम्मेवार देखाएको छ रुख काट्न ढिलो हुनुमा ।

सेनाले मानवअधिकारको विषयमा संस्थालाई गाज्न खोजेकोमा गम्भीरता देखाएको छ । सेनाको कानून हेर्ने सहायकरथी ओम भट्टले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रेसर दिनुको उद्देश्यमाथि नै प्रश्न गरे । उपरथी प्रेमध्वज अधिकारीले त टीआरसीबाट सबै विषयको सम्बोधन हुने बताए ।

सेनाले शान्ति स्थापनार्थ लेबनानबाट फर्कदा आक्रमणमा परेका उपरथी चोकबहादुर ढकाल स्वदेश फर्किइसकेको जानकारी गरायो । उक्त घटनामा सामान्य घाइते भएका ढकालसँगै अर्का एकजना सैनिक अधिकारी पनि सामान्य घाइते भएको सेनाको भनाई थियो ।

सेनाको कल्याणकारी कोषमा पौष १ २०८१ सम्म ८७ अर्ब १ करोड रुपैयाँ जम्मा भएको र १० लाखले लाभ लिइरहेको जानकारी गराइयो ।

सेनाले सुरु गर्ने भनिएको प्रतिरक्षा विश्वविद्यालयका लागि विधेयक बढाउन लागिएको समेत जानकारी गराइयो । कानून बन्नेवित्तिकै विश्वविद्यालय संचालनमा आउने उल्लेख गर्यो ।

प्रतिक्रिया