नेपाली विद्यार्थीमाथि र्दुव्यवहार गर्ने कलिंगा विश्वविद्यालयका सुरक्षा गार्ड र अधिकारीमाथि कारबाही

काठमाडौं, ६ फागुन । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणपछि कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको र्दुव्यवहारका घटनाका दोषीमाथि ओडिसा सरकारले कारबाही गरेको छ । नेपाली विद्यार्थीमाथि कुटपिट र र्दुव्यवहार गर्ने घटनामा संलग्न सुरक्षा गार्डहरु पक्राउ परेका छन् । घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु निलम्बनमा परेका छन् ।
दुईजना सुरक्षा गार्डलाई सेवाबाट निष्काशित गरेको छ । दुई वरिष्ठ छात्रावास अधिकारीहरूलाई निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानको लागि विचाराधीन सोधपुछ गरेको जानकारी प्राप्त भएको छ।
नेपालस्थित भारतीय दूतावासले मंगलबार विज्ञप्तिमार्फत् ओडिशा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।
ओडिसा राज्यको भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थी विरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ। ओडिशा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ। ओडिशा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ।
ओडिशा राज्य सरकारले केआईआईटी लाई सूचनामा राखेको छ र गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको सूचना प्राप्त भएको छ। उच्चस्तरीय समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने भारतीय दूतावासले जनाएको छ। विद्यार्थीहरू विरुद्ध भएको दुर्व्यवहारको रिपोर्टको पनि अनुसन्धान भइरहेको छ र जिम्मेवार व्यक्तिहरूलाई कानून अनुसार जवाफदेही बनाइने स्पष्ट पारेको छ ।
केआईआईटीलले अनिश्चितकालीनु आदेश फिर्ता लिएको छ र नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपील गरेको छ।
केआईआईटीका उपकुलपतिले आफ्ना कर्मचारीहरूको टिप्पणी र व्यवहारको लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् र सबै नेपाली विद्यार्थीहरूलाई नियमित शिक्षामा सामेल हुन अपील गरेका छन्।
भारतीय राजदूतावासले आफ्नो सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने स्पष्ट पारेको छ ।