ट्रम्पका कारण नेपालका मानव तस्करहरु भूमिगत

काठमाडौं, ६ फागुन । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले गैरकानूनी आप्रवासीलाई डिपोर्ट गर्न थालेका छन् । मानव तस्करमार्फत् अमेरिका छिरेकामध्ये नेपालीहरु पनि दुई दर्जनभन्दा बढी डिपोर्ट भइसकेका छन् ।
डिपोर्ट भएकाहरु नेपाल फर्कने क्रम चलिरहेको छ । उनीहरु कसरी अमेरिका पुगे भन्ने बारे प्रहरीले अनुसन्धान गरी सूचना संकलन गरिरहेको छ ।
नेपालमा अमेरिका पुर्याउने गिरोह नै संलग्न छ । मानव तस्करको त्यस्तो सञ्जाल गाउँ गाउँ पसेर घर खेत बन्दकी राख्न लगाएर १ करोडसम्म असुली गर्छन् र अमेरिका पुर्याउँछन् ।
अमेरिकामा गैरकानूनी तरिकाले लाने गिरोहले भारत हुँदै दक्षिण अमेरिकाको बाटोबाट प्रवेश गराउँदछन् । त्यस्ता गिरोहले महिनौं लगाएर अमेरिका लाने क्रममा कतिपयको मृत्यु हुनेगर्छ । मोटो रकम नलिएसम्म अमेरिकासम्म नपुर्याउने गिरोहले अप्ठ्यारोमा पारिदिन्छन् बीच बाटोमा ।
मानव तस्करको त्यस्ता गिरोहहरु ट्रम्पको कदमपछि आत्तिएका छन् । नेपालमा रहेका तस्करको गिरोहको भागाभाग चलेको छ । प्रहरीले उनीहरुको नामावली संकलन गर्न थालेको छ । डिपोर्ट भएकाहरुले को को मार्फत् अमेरिका पुगेको भनी दिएको सूचनाका आधारमा धेरै तथ्य पत्ता लागेको छ । त्यस्ता गिरोह पक्राउ पर्ने भयले भूमिगत हुन थालेका छन् ।