९ फाल्गुन २०८१, शुक्रबार | February 21, 2025

उडिसामा नेपाली छात्रा मृत घटनाबारे भारत सरकारले देखायो गम्भीरता, घटनाको छानविन बढ्यो


February 18, 2025
996
Shares

काठमाडौं, ६ फागुन । उडिसामा नेपाली छात्राको रहस्यमी मृत्युको घटनाप्रति भारतले दुःख व्यक्त गरेको छ । घटनाको छानविन सुरु भइसकेको नेपालस्थित भारतीय राजदूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

नेपाली विद्यार्थीहरुलाई घटना भएको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीले क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुःन सुरु गर्न अपिल गरेको छ । विद्यार्थीहरुलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको छ ।

दूतावासले भारतमा अध्ययतरत नेपाली विद्यार्थीहरु दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्वपूर्ण पक्ष भएको भन्दै भारतमा नेपाली विद्यार्थीहरुको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने स्पष्ट पारेको छ ।

नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद्ले तत्काल कदम चालेको थियो । परिषद्ले घटनापछि प्रदर्शन गरी प्रहरीथाना नै घेराऊ गरेको थियो । त्यसपछि प्रहरीले आरोपी २१ वर्षीय युवकलाई पक्राऊ गरेको थियो ।

एबीभीपीका अनुसार ओडिसा कमिटिका सचिव बुद्धदेव बागसहितका कार्यकर्ताले नेपाली विद्यार्थीलाई भेटी साथ र सहयोगको प्रतिवद्धता जनाएका छन् । उनीहरुले घटनाको सत्यतथ्य जाँच गरी दोषीमाथि कारबाहीको माग गर्दै विश्वविद्यालयमा सबै विद्यार्थीलाई न्यायोचित व्यवहार गर्न माग समेत गरेका छन् ।

घटनाको जानकारी पाएपछि प्राज्ञिक विद्यार्थी परिषद्ले अखिल भारतीय विद्यार्थी परिषद्सँग समन्वय गरी सहयोगको आग्रह गरेको थियो । लगत्तै एबीभीपीले सक्रियता देखाएको थियो । नेपालको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र भारतको अखिल भारतीय विद्यार्थी परिषद्बीच मित्रवत् सम्बन्ध रहिआएको छ ।

प्रतिक्रिया