नेपाली छात्रा मृत भेटिएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद्

एजेन्सी, ५ फागुन । भारतको उडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टलमा नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् पनि विरोधमा उत्रिएको छ । परिषद्ले घटनापछि नेपाली विद्यार्थीलाई होस्टलबाट निकालिएको घटनाको विरोधमा एबीभीपीले प्रदर्शन गरेको हो ।
एबीभीपीका अनुसार ओडिसा कमिटिका सचिव बुद्धदेव बागसहितका कार्यकर्ताले नेपाली विद्यार्थीलाई भेटी साथ र सहयोगको प्रतिवद्धता जनाएका छन् । उनीहरुले घटनाको सत्यतथ्य जाँच गरी दोषीमाथि कारबाहीको माग गर्दै विश्वविद्यालयमा सबै विद्यार्थीलाई न्यायोचित व्यवहार गर्न माग समेत गरेका छन् ।
घटनाको जानकारी पाएपछि प्राज्ञिक विद्यार्थी परिषद्ले अखिल भारतीय विद्यार्थी परिषद्सँग समन्वय गरी सहयोगको आग्रह गरेको थियो । लगत्तै एबीभीपीले सक्रियता देखाएको थियो ।
नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीप्रति र्दुव्यवहार गरेको थियो । उनीहरुमाथि ज्यादती गरेको घटनाप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पनि गम्भीरता देखाएको छ ।