शान्ति सेनामा खटिएका उपरथी ढकाललाई हजबुल्ला समर्थकले किन गरे आक्रमण
![](https://nepalipen.com/wp-content/uploads/2025/02/chok-bahadur-dhakal.jpg)
काठमाडौं, ३ फागुन । शान्ति मिसनमा खटिएर स्वदेश फर्कन एयरपोर्ट जाँदै थिए नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल । उनको अगाडि र पछाडि सुरक्षा दिइएको गाडी पनि थियो ।
३ फागुनको रातिको करिब १२ बजे उनी सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोक्यो । उपरथी ढकाल घटनामा घाइते भए । घटनालगत्तै लेबनानको सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाएर ढकाललाई बेरुतको युएन लेभल थ्री अस्पताल लग्यो । उनको अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ ।
उपरथी ढकालमाथि आक्रमण गर्ने प्रदर्शनकारी समूह हमास समर्थक रहेको बुझिएको छ । उक्त समूहले बेरुत विमानस्थल जाने मार्ग दोस्रो दिन पनि रोकिराखेको थियो । लेबनान सरकारले बेरुतमा इरानी विमान रोकेको विरोधमा उनीहरुले प्रदर्शन गर्दै आएका थिए ।
इरानी विमानले हजबुल्लाका लागि विमानमार्फत् रकम पुर्याइरहेको विषय बाहिर आएपछि लेबनानले अवतरणमा रोक लगाएको हो । इजरायलको दबाबपछि लेबनान सरकार इरानको विमान अवतरण र उडान रोक्ने निर्णयमा पुगेको थियो । हजबुल्ला समर्थकहरु यस घटनापछि विरोधमा उत्रिएका छन् ।
स्मरण रहोस् इजयरायलमा आक्रमण गरी हमासले सयौंको हत्या गरी बन्धक समेत बनाएका थिए । त्यस क्रममा नेपाली विद्यार्थी पनि मारिएका थिए । बन्धक बनाइएकामध्ये नेपाली विद्यार्थी विपिन जोशीको अझै रिहाई भएको छैन ।