कतारमा गैरकानुनी कामदारलाई आममाफी, नेपाली पनि लाभान्वित हुने
![](https://nepalipen.com/wp-content/uploads/2025/02/qatar-main.jpg)
काठमाडौं । कतारले गैरकानुनी रूपमा बस्दै आएका तथा कागजातविहीन आप्रवासी कामदारलाई आममाफी दिएको छ । कतारको आन्तरिक मन्त्रालयले आप्रवासीहरूको प्रवेश, निकास र निवासलाई नियमन गर्ने २०२५ को कानुन नम्बर २१ को उल्लंघन गर्नेहरूलाई तीन महिनाभित्र बिनाजरिमाना स्वदेश फर्कन पाउनेगरी आममाफी दिएको जनाएको छ ।
मन्त्रालयको सूचनाअनुसार रेसिडेन्सीसम्बन्धी कानुनका प्रावधानहरू उल्लंघन गर्ने वा प्रवेश भिसाअन्तर्गत स्वीकृत अवधिभन्दा बढी बस्नेहरूका लागि यो नियम ९ फेब्रुअरीबाटै लागू गरिएको जनाइएको छ । आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिकले स्वदेश फिर्ता हुनका लागि तोकिएको अवधिभित्र आफ्नो प्रस्थान प्रक्रिया पूरा गर्नुपर्नेछ ।
यसरी आममाफी पाएकाहरूले कुनै पनि दण्ड जरिमानाको सामना नगरी देश छोड्न पाउनेछन् । आममाफीले कानुनको पालना गर्दै देश छोड्ने मानिसहरूलाई सहज र प्रभावकारी तरिका प्रदान गर्ने लक्ष्य राखेको छ । कानुन उल्लंघन गर्नेहरूले तोकिएको अवधिभित्र दिउँसो १ बजेदेखि राति ९ बजेसम्मको आधिकारिक कार्य समयभित्र हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जान वा सलवा रोडस्थित खोज तथा अनुगमन विभागमा जान सक्ने मन्त्रालयले जनाएको छ ।
कतार सरकारले यो आममाफी ९ फेब्रुअरीदेखि ९ मेसम्म तोकेको छ । कतारको यस निर्यणसँगै त्यहाँ गैरकानुनी रूपमा बसेका नेपाली कामदार अब बिनाजरिमाना स्वदेश फर्कन सक्नेछन् । यस प्रक्रियामा सहभागी हुने नेपाली कामदारको हकमा दोहास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहजीकरण गर्ने जनाएको छ ।
अहिले कतारमा के कति नेपाली गैरकानुनी रूपमा छन् भन्ने’दयगत आधिकारिक तथ्यांक छैन । कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेका छन् । तीमध्ये ११ हजार ९० जना महिला छन् । राजधानीदैनिकबाट