४५ करोड पुगे महाकुम्भमा, विश्वभरबाट तीर्थालुको ओइरो
![](https://nepalipen.com/wp-content/uploads/2025/02/Mahakumbha.jpg)
एजेन्सी, २९ माघ । प्रयागराजमा गँगा, यमुना र सरस्वतीको संगमस्थलमा महाकुम्भको मेलामा किर्तिमान तोडिएको छ । कुम्भमेला चलिरहँदा ४५ करोडभन्दा बढी तीर्थालुले यात्रा गरिसकेका छन् । यो सँसारको इतिहासमा कुनै एक मेलामा अहिलेसम्मकै बढी तीर्थयात्री पुगेको घटना हो ।
महाकुम्भ मानव इतिहासमा सबैभन्दा बढी मानिसहरु एकै ठाउँमा भेला हुने घटनाका रुपमा पनि चिनिन्छ । हिन्दू संस्कृतिको सामथ्र्य यसबाट पनि झल्कन्छ ।
महाकुम्भ भारतमा चलिरहेपनि विश्वका नेता देखि सेलिब्रिटी पुगेका छन् । भारतका राष्ट्रपति द्रोपदी र्मुमुर, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्नान गरिसकेका छन् । भुटानका राजा जिग्मे केशर वाङचुक पनि महाकुम्भ पुगेर स्नान गरे ।
७७ देशका ११८ कूटनीतिज्ञ र तिनका परिवार पनि महाकुम्भमा मेला भर्न पुगे । विभिन्न चरणमा फरक देशका कूटनीतिज्ञ लगातार पुगे । जसमा मुसलमान राष्ट्रका पनि थिए । फिजी, फिनल्यान्ड, गुयना, मलेशिया, मौरिसस, सिंगापुर, दक्षिण अफ्रिका, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, युएई जस्ता देशबाट पनि सरकारी तहबाट महाकुम्भमा सहभागिता रह्यो ।
बलिउड सेलिब्रिटीहरु मेला भर्न पुगे । विश्वचर्चित समाजसेवी लाउरेनी पावेल जब्स र सेलिब्रिटी क्रिस मार्टिन पनि मेलामा पुगे ।
महाकुम्भमा यति ठूलो संख्यालाई व्यवस्थापन गर्न सक्नु सामान्य विषय होइन । करोडौं तीर्थालुलाई खानपिन र अस्थायी बसोबासको व्यवस्थापन भइरहेको छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता ठूला देशको जनसंख्या जोड्दा पनि महाकुम्भको तीर्थयात्रीको संख्या बराबर पुग्दैन । त्यसैले पनि यो २१औ शताब्दीको ठूलो उत्सव मानिएको छ ।