बैंकर ऋषभको सफलताको राज
![](https://nepalipen.com/wp-content/uploads/2025/02/rsihv-th.jpg)
निष्ठा र नैतिकतासँगै इमान्दारिताका साथ मेहेनत गरे जुनसुकै पेशा व्यवसायमा सफलता पाउन सकिन्छ
काठमाडौं । जागिरभन्दा जागिर दिनसक्ने कठिन अनि महत्वको विषय हो । अबको दुनियाँले जागिर दिनेलाई सम्मान दिन थालेको छ । निष्ठा,इमान र नैतिकतासँगै इमान्दारिताका साथ मेहेनत गर्न सकियो भने जुनसुकै पेशा व्यवसायमा पनि सफलता पाउन सकिन्छ । यसको उदाहरण हुन् बैंकर ऋषभ भट्टराई । आफ्नो पेशाप्रति गर्व गर्छन् खुशी र सुखी छन् ।
आफ्नो पेशा व्यवसाय नयाँ पुस्तालाई हस्तान्तरण गर्न र आफूले अंगालेको पेशामा अरुलाई आकर्षित गर्न सकियो भने त्यो जीवनकै उपलब्धि हुने ऋषभको मान्यता छ ।
ओखलढुंगाको साविक सेर्ना र हाल चिसङगढी गाउँपालिका–५ मा २०३६ सालमा जन्मिएका हुन् भट्टराई । त्यहाँको चट्टान र पाखा पखेरामा खेल्दै हुर्किएका । उनको प्यारो ओखलढुंगाले यहाँसम्म पुरा¥यो । इच्छाशक्तिले सफलताको ढोका खोज्दै जानेमा विश्वास गर्छन् ऋषभ । आफ्नो क्षमताअनुसारको इच्छाशक्ति बुझेर मेहनत गर्ने व्यक्तिले एकदिन सफलता हात पार्ने उनको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंकको दशौं तह अर्थात मुख्य प्रबन्धकमा कार्यरत भट्टराईका हजुरबुवा तीनपटक प्रधानपञ्च र त्यसपछि जिल्ला पञ्चायतको सदस्य भएका थिए । राजनीतिक पृष्ठभुमि भएपनि उनको बुवा मणिराज भट्टराईलाई राजनीतिले कति पनि छुन सकेन । उनले जीवनभर जागिरे जीवन बिताए । पेशाले आयुर्वेदका कबिराज भएपनि मणिराज सोलुखुम्बुमा डाक्टरकै रुपमा चिनिन्थे । जागिरको शिलशिलामा ओखलढुंगाबाट सोलु पुगेका मणिराजले कक्षा ५ मा पढ्दै गरेका आफ्ना जेठा छोरा ऋषभलाई पनि आफूसँगै लैजाने र उतै पढाउने व्यवस्था मिलाए ।
मध्यम वर्गिय परिवारमा हुर्के बढेका ऋषभ बाल्यकाल देखि नै अध्ययन गर्न रुची राख्थे,उपाध्याय ब्राह्मणको परिवार भएकाले उनका हजुरबुवाले राजनीतिसँगै जजमान पनि गर्थे । उनलाई भेट्न आउने इष्टमित्रले मिठो मिठो खानेकुरा ल्याइदिने भएर पनि ऋषभ हजुर बुवासँगै बस्न रुचाउथे । हजुरबुवासँग विभिन्न किसिमका पुस्तकहरु हुने भएकोले पनि अध्ययन गर्न ऋषभलाई निकै लोभ लाग्थ्यो । उनी विद्यालय पछिको धेरै समय हजुरबुवासँगै बिताउथे ।
संयुक्त परिवारमा जन्मे, हुर्केका ऋषभ आमा जीवन र बुवा मणिराजका तेस्रो सन्तान अर्थात जेठो छोरा हुन् । ऋषभका दुई दिदी र एक भाइ छन् । उनले गाउँकै एक विद्यालयमा प्राथमिक तह ४ कक्षासँम्म अध्ययन गरेका थिए ।
कक्षा ५ देखि भने उनले सोलुको लेलेस्थित जीवन ज्योती माध्यमिक विद्यालयमा पढाइ सुरु गरे । उनले ०५१ सालको चैत्रमा परिक्षा दिएर २०५२ सालमा एसएलसी फस्ट डिभिजनमा उत्तिर्ण गरेका थिए । त्यसपछि भने ऋषभको काठमाडौंको अध्ययन यात्रा सुरु भएको थियो ।
सानैदेखि कृषि क्षेत्रको अध्ययन गर्ने र एजी बन्ने सोच बनाएका ऋषभ काठमाडौं आएसँगै आफन्तको सल्लाहमा अस्कल क्याम्पसमा विज्ञान विषयमा भर्ना भए । तर त्यहाँ उनले पढ्न भने पाएनन् । ऋषभले अस्कलमा पढाइका लागि भर्ना गरे लगत्तै उनकी आमा ठुलो बिरामी परिन् । आमा बिरामी भएपछि उनी घर फर्किए, सोही समयमा आमाको निधन भयो । आमाको निधनपछि विछिप्त भएका ऋषभ काठमाडौं फर्किए, तर उनले विज्ञान बिषय भने नपढ्ने निधो गरे ।
आफन्तहरुले साइन्स पढ्न सजिलो नभएकोले निरन्तरता दिन गाह्रो हुने भनेपछि उनी पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा आइकममा भर्ना भए । ऋषभले आमाको बराखी बार्दै कलेज गएर आइकमको अध्ययन पुरा गरे । बिबिएस अध्ययन भर्खर थालेका ऋषभलाई फेरी अर्को विपद आइपर्यो । उनका बुवाको पनि निधन भयो । सैतै बर्खी बारेर कलेज जान थाले । त्यसपछि भने उनलाई आर्थिक हिसाबले पनि समस्या पर्न थाल्यो । बर्खी बारेको देखेर धेरै साथीहरुले उनलाई प्रश्न सोधेरे हैरान बनाउथे त कतिले बुझ्थे पनि । तर त्यो क्षणलाई जीवनकै बिर्सन नसकिने दुखद क्षणको रुपमा लिन्छन्, उनी ।
अब जसरी पनि भात खानकै लागि जागिर खान पर्यो भन्दै सोच्दै गर्दा उनले दुरसंचार अर्थात नेपाल टेलिकममा आवेदन माग गरेको सुचना भेट्टाउछन् । सोही सुचनाको आधारमा आवेदन दिएर भरपुर तयारी गर्छन् । ऋषभले गरेको मेहेनतअनुसार ३० हजारले आवेदन दिएकोमा सहायक पदमा उनको नाम एक नम्बरमा आयो । उनले २०६० साल बैशाखमा टेलिकममा जागिर सुरु गरे । उनी परिक्षण कालमै हुँदा राष्ट्रिय वाणिज्य बैंकमा पनि कर्मचारी माग गरेको जानकारी पाए । उनले त्यता पनि फर्म भरे र तयारी गर्न थाले । उनको मेहेनतलाई भाग्यले पनि साथ दियो । टेलिकमको जागिर परिक्षण कालमै छाडेर उनले २०६२ साल बैशाख २ गते राष्ट्रिय वाणिज्य बैंकको अफिसर पदको नियुक्ति लिए । त्यसपछि उनले एकपछि अर्को गर्दै सफलता पाउदै गए,त्यसपछि भने उनले कहिल्यै पनि पछि फर्केर हेर्न नपरेकोमा खुशी व्यक्त गरे ।
हरेक क्षेत्रमा मेहनत नै ठुलो हतियार हो उनी भन्छन् । एकैपटकको प्रयासमा प्रतिस्पर्धाबाट उनले छैटौं,सातौं,आठौं,नवौं र दशौं तहमा पदोन्नती भएको भन्दै अरुलाई पनि आफ्नो लक्ष्यमा दृढ भएर लाग्न सल्लाह दिन्छन् । ऋषभले हाल राष्ट्रिय वाणिज्य बैंकको शक्तिशाली शाखा न्युरोडको ब्रान्च म्यानेजरको जिम्मेवारी सम्हालेका छन् । उनले देशको राष्ट्रिय राजनीतिमा अर्थ विज्ञको रुपमा सल्लाह दिने गर्छन् ।
बैंकिङ्ग क्षेत्र एकदमै संवेदनसिल क्षेत्र भएको भन्दै चुनौति र अवसर पनि धेरै भएको उनी दाबी गर्छन् । प्रत्येक वर्ष नयाँ नयाँ टेक्नोलोजी,कार्यविधि,नियम कानुन आउने भएकाले बैंकका कर्मचारीहरु पनि अध्ययनशिल र अपडेट हुनुपर्ने उनको धारणा छ ।
बैंकरलाई पद प्रमोशनको निकै महत्व भएको उनी सुनाउँछन् । प्रमोशन हुनका लागि योग्यता पुगेपछि चारै तह (छैटौं,सातौं,आठौं,नवौं र दशौं) मा पहिलो प्रयासमै सफल भएको सुनाउँदै त्यस्तो सुखद संयोग आफुले भोग्न पाएकोमा निकै खुशी लागेको बताउछन् । बैंक हाइ रेगुलेटेट हुने,सिस्टमहरु चेन्ज भइरहने भएकोले कर्मचारीहरुले तालिम,अध्ययन,भ्रमण र नयाँ नयाँ कुराको ज्ञान लिनु निकै महत्व भएको उनको बुझाइ छ ।
युवापुस्तामा भएको नेपालमा रोजगारीको अवसरै छैन भन्ने साघुरो सोचलाई तोड्नु पर्ने उनको भनाइ छ । कमर्सका विद्यार्थीलाई बैकिङ्ग क्षेत्रमा रोजगारीको पर्याप्त अवसर छन् भन्दै उनले विद्यार्थीले आफुलाई प्रतिस्पर्धी बनाउनु पर्ने पनि सुझाव दिन्छन् ।
ऋषभका अनुसार सबैभन्दा ठुलो सफलताको बाधक इच्छा शक्ति नहुनु हो । आफ्नो क्षमता अनुसार स्वाभाविक इच्छाशक्ति राख्नुपर्छ भन्दै भट्टराईले इच्छाशक्ति नहुनु नै सफलताको बाधक भएको ठोकुवा गर्छन् ।
सफल हुन संघर्षको महत्व धेरै भएको भन्दै उनले सफलता व्यक्तिअनुसार फरक पर्ने बताउछन् । सफलताका लागि इच्छा शक्ति र त्यसको लागि आवश्यक तयारी चाहिन्छ उनी भन्छन् । सफल हुन निरन्तरको अध्ययन,अपडेट चाहिन्छ । निष्ठा,इमान्दारिता,अनुशासन,नैतिकता र व्यवसायिकतालाई मन्त्र बनाए हरेक क्षेत्रमा सफलता पाइने उनको विश्वास छ । असफलता वा सफलतामा दुवैमा परिवारको महत्वपुर्ण भूमिका हुन्छ ।