११ फाल्गुन २०८१, आइतबार | February 23, 2025

साहारा सहकारीको अभियोजन गर्ने न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन


February 6, 2025
664
Shares

काठमाडौं,२४ माघ । चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सो सहकारी मुद्दामा लुइँटेलले मुद्दा कमजोर बनाएर दर्ता गरेको भन्दै महान्यायाधिवक्ता कार्यालय झिकाइएको छ ।

मंगलबार सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेलगतै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गर्ने निर्णय गरेको थियो । बुधबार महान्यायाधिवक्ता कार्यालय उपस्थित भएका लुइँटेलमाथि छानबिन गर्नका लागि समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।

रास्वपा सभापति लामिछानेलाई ठगीमा मात्रै मुद्दा दर्ता गरेर अरू सबैलाई संगठित अपराधसहितको मुद्दा दर्ता गरेपछि महान्यायाधिवक्ता रमेश बडालले मंगलबार आकस्मिक बैठक राखेर लुइँटेललाई महान्यायाधिवक्ता तानेर उनको ठाउँमा उच्च सरकारी वकिल कार्यालय बुटवलका रवि न्यौपानेलाई पठाउने निर्णय गरेका हुन् । समितिलाई अभियोजनपत्र अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । अभियोजनमा त्रुटि भए नभएको यथासक्दो चाँडो प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको प्रवक्ता दाहालले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले रविसहितका प्रतिवादीलाई ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले रविलाई भने संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गर्दै अभियोगपत्र दायर गरेको थियो । मुद्दा कमजोर बनाएको आरोपमा लुइँटेललाई सरुवा गरेर अनुसन्धान अगाडि बढाइएको हो ।

लुइँटेलका अनुसार लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर चितवनमा आफैंले ऋण लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको मंगलबार बताएका थिए ।

लुइँटेलले भने, ‘सहकारीको रकम गएकामध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरूलाई पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ, लामिछाने भने एउटा कम्पनीमा मात्र सञ्चालक देखिएकाले उनलाई ठगीमा मात्रै मुद्दा चलाइएको हो ।’

साहारा चितवन सहकारी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा ३२ जनालाई प्रतिवादी बनाइएकामा जीबी राई, छविलाल जोशीसहित १२ जनालाई संगठित अपराधमा पनि कसुरदार बनाइएको छ । तर, लामिछानेलाई भने सो कसुर हटाइएको थियो ।

आफूविरुद्ध ठगीको आरोपमा अभियोग दर्ता भएपछि लामिछाने बुधबार बिहानै अदालतमा हाजिर भएका थिए । उनको बयान सकिएसँगै थुनछेक बहस चलेको थियो । बुधबार जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । यस्तै, जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् । बिहीबार सरकारी वकिलका तर्फबाट तीन जना थपिने र रविका तर्फबाट १० जनाले बहस गर्ने बताइएको छ । थुनछेक बहस नसकिएपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ । लामिछानेलाई बिहीबार ११ बजे अदालतमा उपस्थित गराउन भनेको छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए । उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको अभियोगपत्रमा उल्लेख छ ।

यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ । यीमध्ये लामिछानेबाहेकका प्रतिवादीको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको भन्दै उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ ।

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आशिष आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दीपक लामा र नेत्रपाणि बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया