२२ माघ २०८१, मंगलबार | February 4, 2025

कांग्रेसका भ्रातृ संगठनको महाधिवेशन कहिले ?, तदर्थवादमै अड्किँदा ‘कोमामा’ पुग्ने त्रास


February 4, 2025
581
Shares

काठमाडौं,२२ माघ । देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसका भ्रातृ संगठनहरू तदर्थवादको शिकारले ‘कोमामा’ पुग्ने अवस्था आएको छ। नेता उत्पादनको नर्सरीका रूपमा खडा भएका भ्रातृ संगठनका जिम्मेवार व्यक्ति र पार्टी नेताहरूकै कारण वर्षौंसम्म महाधिवेशन गर्न नसक्दा निकम्मा बन्दै गएका हुन।

पार्टीका भ्रातृ संगठनलाई विधि र विधानभन्दा पनि गुटगत स्वास्र्थ र तदर्थवादमा सञ्चालन गर्ने यो वा त्यो बहानाले निरन्तरता पाउँदा कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूको महाधिवेशन वर्षौंदेखि हुन नसकेको नेताहरूले स्वीकार गर्ने गरेका छन्। विगत आठ वर्षदेखि महाधिवेशन हुन नसकेका नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन गराउने जिम्मेवारीसहित गत असोज १६ गते पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य रहने गरी तीनवटा निर्देशन समिति गठन गर्नुभएको थियो।

जसको मुख्य जिम्मेवारी नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन गराउने भनिएको छ। सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा नेविसंघ सहमहामन्त्री उमाकान्त चौधरीको संयोजकत्वमा नेपाल महिला संघ र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को संयोजकत्वमा नेपाल तरुण दलको महाधिवेशन निर्देशन समिति बनाइएको छ।
नेपाल दलित संघ महाधिवेशन निर्देशक समितिका सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा रहेको छ।

त्यस्तै, आठदेखि १७ वर्षसम्म महाधिवेशन नभएका संगठनहरूको समेत महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेर निर्देशन समिति बनाएको छ। नेपाल किसान संघ, भूतपूर्व सैनिक संघ, लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले निर्देशन समिति बनाएको सहमहामन्त्री जीवन परियारले बताउनुभयो।

निर्देशक समितिले महाधिवेशनका लागि केही कामहरू गर्न थाले पनि धेरै प्रक्रियागत समस्याका कार्यहरू अघि बढ्न नसकेको समितिका नेताहरूले स्वीकार गरेका छन्। अधिकांश समिति र सम्बन्धित संगठनका केन्द्रीय समितिले समेत महाधिवेशन केन्द्रित कुनै पनि गतिविधि गरेका छैनन्। यीमध्ये नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन आगामी फागुन ७–१० मा गर्ने तयारी गरिएको संघमा अध्यक्ष बालकृष्ण दाहालले बताउनुभयो। अरू भ्रातृ संगठनको अधिवेशन गर्नका लागि पार्टी र सम्बन्धित संगठनका नेताहरूले तातो लगाएका छैनन्।

‘पार्टीलाई बलियो बनाउन युवा, विद्यार्थी, महिला, किसान सबैको ऊर्जा आवश्यक छ’, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले भन्नुभयो–‘तर, यिनै भ्रातृ संगठनहरूको महाधिवेशन वर्षौंसम्म गर्न नसक्दा पार्टीमा नवप्रवेशीहरूको कमी हुने र पार्टीलाई विभिन्न क्षेत्र तथा समुदायमा जागृत गराउन कठिन हुने अवस्थामा पुगेको छ।

पार्टीको ‘ब्याकवोन’ मेरुदण्डका रूपमा रहेका भ्रातृ संगठनको महाधिवेशनका सवालमा सम्बन्धित संगठनको जिम्मेवारी लिएका साथीहरूले र पार्टीका नेताहरूले समेत समयमै निर्णय लिन नसक्नु दुर्भाग्य हो ।’ कि समयमा महाधिवेशन गर्ने नत्र दुई दुई वर्षमा नयाँ समिति बनाएरै भए पनि संगठनलाई चलायमान गराउन पार्टी नेतृत्वले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ।

नियमित महाधिवेशन नभएको भन्दै २०७८ फागुन ३ गते कांग्रेस कार्यसम्पादन समितिको बैठकले १० वटा भ्रातृ संस्थाहरूको केन्द्रीय समिति भंग गरेको थियो । त्यस बेला नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय समिति विघटन गरिएको थियो।

पछि महाधिवेशन गर्ने निश्चित अवधि तोकेर सबै संगठनलाई पुनःगठन गरिएको थियो। नेवि संघ, तरुण दल, महिला संघको २०७३ सालपछि महाधिवेशन भएको छैन । त्यस्तै नेपाल किसान संघको २०६४ र नेपाल प्रजातन्त्र सेनानी संघको २०६४ सालपछि महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल भूतपूर्व सैनिक संघसहितका भ्रातृ संगठनहरूको अवस्था पनि उस्तै छ ।

नेपाल विद्यार्थी संघको महामन्त्रीसँगै राष्ट्रिय राजनीतिमा उदाएका थापा र सोही संघको केन्द्रीय सदस्य, महामन्त्री, अध्यक्ष हुँदै पार्टी राजनीतिमा ठाउँ बनाएका शर्मा कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेपछि भ्रातृ संगठनहरूको नियमित महाधिवेशन हुने अपेक्षा धेरैले गरेका थिए । तर, भ्रातृ संगठनको विधान एकातिर राखेर भागबन्डा मिलाउन तदर्थ समिति निर्माण गरिएको छ।

जसले गर्दा भ्रातृ तथा शुभेच्छुक संगठनहरू निकम्मा जस्तै बनेका छन्। गुटगत आधारमा आरोप प्रत्यारोपमा सक्रिय भ्रातृ संगठनका अगुवाहरूले महाधिवेशन गराउन कुनै चासो नदिएको युवा तथा विद्यार्थीको गुनासो छ। २०७३ भदौमा काठमाडौंमा सम्पन्न ११ औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन ।

पार्टीले राजीव ढुंगानाको नेतृत्वमा नेविसंघ, जितजंग बस्नेतको नेतृत्वमा तरुण दलको तदर्थ समिति गठन गरेर महाधिवेशन गर्ने जिम्मेवारी तोके पनि उनीहरू संगठनको अधिवेशन नगरी नै पार्टीको १४औं महाधिवेशनका केन्द्रीय सदस्य बने। कांग्रेसका नेता उत्पादनका गर्ने मुख्य संगठनहरू नेविसंघ, तरुण दल, महिला संघलगायत भ्रातृ संगठनहरूको महाधिवेशन गराउने सम्बन्धित संगठनका नेतृत्व, पार्टीले बनाएको निर्देशन समिति र स्वयम पार्टी नेतृत्वले समेत अनिच्छुक देखिँदा भ्रातृ संगठनहरू कोमामा पुग्ने अवस्था आएको कांग्रेसका युवा नेताहरूले टिप्पणी गर्दै आएका छन्।

संगठनका वर्तमान नेतृत्वबाट पटक पटक थपिएको समयमा पनि महाधिवेशन गराउन नसकेपछि विकल्पमा पुनःगठन गर्ने विषयमा समेत छलफल भएको नेताहरूले बताएका छन्। समाचारपत्र

प्रतिक्रिया