टुँडिखेलमा दश हजार विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा उत्रने
काठमाडौं, १९ माघ । टुँडिखेलमा फागुन २ गते दश हजार विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा उत्रने भएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालन हुने परीक्षामा काठमाडौं ललितपुर र भक्तपुरका झण्डै दुई सय विद्यालयका दश हजार विद्यार्थी सहभागी हुने भएका हुन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
परीक्षामा सहभागी हुन विद्यालय र विद्यार्थीले परीक्षासम्बन्धी पुस्तक लिएर आवेदन दिन सक्नेछन् । परीक्षामा देशको भूगोल, इतिहास, संस्कृति र परम्परासम्बन्धी प्रश्नहरुको उत्तर दिनुपर्नेछ ।
संस्कृति ज्ञान परीक्षामा प्रथम हुनेले ५१ हजार, द्वीतियले ३१ हजार, तृतीयले २१ हजार प्राप्त गर्नेछन् । । ५० जनाले सान्त्वना पुरस्कारवापत् प्रति विद्यार्थी एक-एक हजार प्राप्त गर्नेछन् ।
परीक्षामा पुस्तक पढेर उत्तर दिनुपर्नेछ । परीक्षा फागुन २ गते हुनेछ भने नतिजा घोषणा पनि परीक्षा सकिएको एक घन्टाभित्र सार्वजनिक गरी पुरस्कार वितरण हुनेछ ।
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हिन्दू स्वयंसेवक संघले प्रत्येक वर्ष गर्दै आएको छ । अहिले देशभर जिल्ला र पालिका तहमा परीक्षा हुने क्रम जारी छ ।