१७ माघ २०८१, बिहिबार | January 30, 2025

रास्वपामा सकस : डीपी हाबी हुँदा स्वर्णिम कमजोर बन्दै


January 30, 2025
0
Shares

काठमाडौं,१७ माघ । पार्टी स्थापनालगत्तै भएको आम निर्वाचनमा २१ सिटसहित संसद्को चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिर देख्दा सग्लो देखिए पनि आन्तरिक रूपमा निकै सकसपूर्ण अवस्थामा गुज्रिँदै गएको छ।

पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएका र संस्थापक महामन्त्री मुकुल ढकाल बहिर्गमनमा परेपछि सँगै पार्टीका नेताहरूबीच अन्तरविरोध चुलिन थालेको पाइएको छ।

रास्वपामा यति बेला उपसभापति डीपी अर्याल र नेता विराजभक्त श्रेष्ठको वर्चस्व बढेसँगै अर्का उपसभापति डा। स्वर्णिम वाग्ले अल्पमतमा पर्नुभएको छ। एमाले सांसद सूर्य थापा नेतृत्वमा गठित सहकारी छानबिनसम्बन्धी संसदीय समितिका सदस्य शिशिर खनाललाई रविमाथि छानबिन गर्न सरकारलाई सुझाव दिएको प्रतिवेदन हस्ताक्षर गर्ने शिशिर खनालमाथि पनि विभिन्न कोणबाट पार्टीभित्रै प्रश्न उठिरहेको छ।

सहकारी प्रकरणमा संलग्न नभएको दाबी गर्नुभएका सभापति लामिछानेमाथि छानबिन गर्नुपर्ने निष्कर्षसहित सरकारलाई सुझाव लेखिएको प्रतिवेदनमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने अलमलमा खनाल हुनुहुन्थ्यो।

वाग्लेले नै ‘हस्ताक्षर गर्दा केही फरक पर्दैन त्यसको जिम्मा हामी लिन्छौं’ भनेपछि खनालले प्रतिवेदनमा हस्ताक्षर गरेको र पछि उक्त विषयमा केही विवादसमेत उत्पन्न भएको रास्वपाकै नेताहरूको दाबी छ।

रविमाथि छानबिन गर्नुपर्ने सुझावयुक्त प्रतिवेदनका सन्दर्भमा वाग्लेको योजना रविलाई छानबिनमा तानेपछि आफू पार्टी नेतृत्वमा पुग्न सक्नेसम्मको रहेको नेताहरूको दाबी छ। तर, पार्टी नेतृत्वको जिम्मेवारी पाइने आशमा रहनुभएका उपसभापति डा। स्वर्णिम वाग्ले पछिल्लोपटक पार्टीभित्र एक्लिँदै जानुभएको छ ।

‘रविजी अनुसन्धानमा गइसकेपछि कसले पार्टी चलाउने र कसले संसद् हेन्डिल गर्ने भन्ने विषयमा आन्तरिक समस्या देखिएको थियो’, रास्वपाका एक केन्द्रीय सदस्यले भने– ‘तर, अहिले पहिलादेखि नै उपसभापतिको जिम्मेवारीमा रहनुभएका डीपीलाई पार्टी र संसदीय दलका उपनेता विराजभक्तलाई कामचलाउ रूपमा संसद्को जिम्मा दिइएको छ। यसमा केही नेताहरूले खुलेर सन्तुष्टि व्यक्त गरेका छैनन्। यद्यपि, पार्टीको सिस्टमलाई फलो गर्नुपर्छ भन्ने मान्यताअनुसार यो निर्णय गरिएको हो।’

पार्टी निर्माण पनि सभापति लामिछानेले नै गर्नुभयो र पार्टीमा समस्या पनि उहाँकै कारण आएको जस्तो देखिएको उनको भनाइ छ। सभापति लामिछाने सहकारी मुद्दामा पक्राउ परेपश्चात पार्टीमा निस्क्रिय हुनुहुन्छ । उहाँको अनुपस्थितिमा रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ। त्यस्तै संस्थापक महामन्त्री डा। मुकुल ढकाललाई पनि पार्टीले अनुशासनको कारबाहीका नाममा साधारण सदस्यसमेत खोसेपछि कार्यवाहक महामन्त्री बनाइएको छ । त्यस्तै, पार्टीको प्रवक्ता समेत कार्यवाहक प्रवक्ता तोकिएको छ।

कार्यवाहक सभापति अर्यालले सबै कुरा रविकै सरसल्लाहमा गर्ने निर्णय गरेको रास्वपा संसदीय दलको बैठकसमेत उपनेता विराजभक्त श्रेष्ठकै समन्वयमा बसेर निर्णयहरू गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो।

‘रवि लामिछानेको सांसद पद निलम्बन भएको छ’, परियारले भन्नुभयो– ‘त्यो प्रतिनिधिसभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधानको विपरीत छ। हामीले चाँडै न्याय पाउँछौं। उहाँ चाँडै संसद् फर्किनुहुन्छ। हामी अहिले दलको उपनेताबाटै कामकारबाही अघि बढाउँछौं।

रास्वपाले पार्टी नेतृत्व र अन्य नेताहरूको आलोचना गरेकै भरमा कारबाही गर्ने परम्परा बसालेको छ। यसको पछिल्लो उदाहारण कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको घटनाले पनि पुष्टि गर्दछ। तिम्सिनाले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपा अनुसन्धान आयोगका प्रमुख भरतमणि देवकोटाले बताउनुभयो यद्यपि, पार्टीको आन्तरिक समस्याका विषयमा नेताहरूले अन्य दलका नेताहरूजस्तै सार्वजनिक रूपमा मुख खोल्न सकेका छैनन् । समाचारपत्र

प्रतिक्रिया