रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश, अब कहाँ दर्ता होला मुद्दा

काठमाडौं, १३ माघ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।
६ माघमा जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उनीहरुबाट ५५ करोड ५९ लाख र लामिछाने छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो ।
यसअघि पोखराको सुर्यदर्शन सहकारी ठगी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पनि लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको छ । तर, लामिछानेले कसुर नगरेको विश्वास गर्ने मानसिव आधार नदेखिएको भन्दै धरौटी माग गरिएको आदेशमा उल्लेख छ ।
लामिछानेसहित उनको टोलीले देशका विभिन्न स्थानमा सहकारी ठगीमा संलग्न रहेको विषय उठिरहेको छ । अब उनीविरुद्ध अर्को स्थानमा पनि मुद्दा दायर हुने सम्भावना देखिएको छ ।