महाधिवेशनको छैन टुंगो कांग्रेसको महामन्त्रीका आकांक्षीमा युवाको लर्को
काठमाडौं,१३ आइतबार । नेपाली कांग्रेसको विधानतः हुनुपर्ने १५औं महाधिवेशन समयमै हुने आधारहरू तयार नभए पनि पार्टी सभापतिसहित महामन्त्रीका आकांक्षीहरूको ओइरो लागेको छ। ०८२ मंसिरमा हुनुपर्ने नियमित महाधिवेशन अहिलेको कार्यसमितिले कम्तीमा एक वर्षपछि धकेल्ने संकेत गरिसकेको छ।
गत भदौमा केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार हालसम्म पार्टीको विधान मस्यौदा समिति गठन भएको छैन भने क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया भर्खर शुरू गरिएको छ।
समयमै महाधिवेशन सम्पन्न गर्न महामन्त्री गगनकुमार थापाले ०८१ साउनभित्र पार्टी विधान संशोधनका लागि सुझाव संकलन गर्ने, ०८१ असोजमा विधान महाधिवेशन गर्ने र ०८१ कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्ताव गर्नुभएको थियो। सो प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित गरे पनि निर्णय कार्यान्वयनमा पार्टी सभापति महामन्त्रीसहितका नेताहरू सचेत देखिएका छैनन्।
तर, कांग्रेसको आगामी सभापति र महामन्त्रीका लागि नेताहरूले फरकफरक ढंगबाट अभियान चलाउन थालेका छन्। नेता शेखर कोइराला, शशांक कोइराला, महामन्त्री गगनकुमार थापा, उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, कृष्ण सिटौलाले सभापतिको आकांक्षा राखेका छन्।
शेखर, गगन र शशांकले त सभापति लड्ने उद्घोष गरेरै देश दौडाहामा लागिसकेका छन्। सभापतिका आकांक्षीमात्र होइन कांग्रेसको सभापतिपछिको कार्यकारी पद महामन्त्रीका लागि युवा नेताहरूको लर्को लागेको छ। अघिल्लोपटक महामन्त्री लडेकादेखि पहिलोपटक केन्द्रीय सदस्य भएका, केन्द्रीय सदस्य नभएका र पूर्वकेन्द्रीय सदस्यसमेत गरी महामन्त्रीको दौडमा करिब दर्जन नेताहरू लागेका छन्।
१४औं महाधिवेशनमा महामन्त्री पराजित वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सहमहामन्त्री तथा पर्यटनमन्त्री बद्री पाण्डे, जीवन परियार, डिना उपाध्याय, गृहमन्त्री रमेश लेखक, पूर्वकेन्द्रीय सदस्य नेता गुरुराज घिमिरे, केन्द्र्रीय सदस्य नैनसिंह महर, कुन्दनराज काफ्ले, तरुण दलका पूर्वमहामन्त्री युवा नेता भूपेन्द्रजंग शाहीले महामन्त्रीको आकांक्षासहित राजनीतिक गतिविधिलाई आक्रामक बनाउन थालेका हुन् ।
१५औं महाधिवेशनमा महामन्त्रीको तयारी थालेको नेविसंघका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभयो । त्यस्तै, नेता भूपेन्द्रजंग शाहीले महामन्त्रीको तयारीका लागि एक वर्ष अघिबाटै लागेको बताउनुभयो। उहाँले भर्खरै झापाको मेचीनगरदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म अभियान सकेलगत्तै अर्को अभियानमा जुटेको बताउनुभयो। नेता गुरुराज घिमिरेले अनामनगरमा सम्पर्क सचिवालय नै राखेर महाधिवेशन अभियान चलाउन थाल्नुभएको छ।
प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार, डिना उपाध्यायले आफूहरू सहमहामन्त्री भइसकेकाले महामन्त्रीका लागि स्वाभाविक दाबी रहेको बताउँदै आएका छन् । रमेश लेखक पार्टीभित्र पछिल्लो समय बढी सक्रिय भएको र नेतृत्वले समेत अन्तरपार्टी समन्वयलगायतको जिम्मेवारीमा अघि सार्नुले उहाँलाई महामन्त्रीको तयारीमा लाग्ने अवसर प्राप्त भएको लेखकनिकट नेताहरूले बताएका छन्।
तर, पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले महाधिवेशन आउन अझै डेढ वर्ष समय रहेकाले अहिले नै महाधिवेशनको चर्चामा समय खेर फाल्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कांग्रेसमा महाधिवेशनको हल्ला गर्ने बेला भएको छैन। अहिले संगठन गर्ने, क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्ने बेला भएकाले महाधिवेशन वैधानिक प्रक्रियाअनुसार हुन्छ, हतारिनुपर्ने अवस्था छैन ।’
प्रवक्ता महतको भनाइलाई मान्ने हो भने २०८३ माघरफागुनअघि कांग्रेसको १५औं महाधिवेशन हुँदैन। एमालेसँगको सत्ता सहयात्राको सहमतिअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा अबको डेढ वर्षमा प्रधानमन्त्री हुनुहुनेछ। देउवाको तयारी पहिला प्रधानमन्त्री त्यसपछि महाधिवेशन गर्ने छ।
दुई दलीय सहमतिअनुसार देउवा प्रधानमन्त्री हुनका लागि २०८३ सम्म आफैं सभापति हुनुपर्ने बाध्यता पनि छ। विविध कारण देखाएर महाधिवेशनको समय पछि धकेल्न सकिने विधानगत सहुलियतलाई उपयोग गर्ने पक्षमा सभापति र पदाधिकारीहरू एक मत देखिन्छन्। यद्यपि, नेतृत्वलाई समयमै महाधिवेशनको सुनिश्चितता गराउन दबाब दिने गरी तयारीमा लागेको संस्थापनइतर समूहका नेता गुरुराज घिमिरेले बताउनुभयो।
पार्टीलाई फरक ढंगले हाँक्ने योजना बाँडेर महामन्त्री जितेका गगन थापा–विश्वप्रकाश शर्माले पनि पार्टीमा थिति बसाल्न नलागेको भन्दै युवा नेताहरूले नै सभापतिसहित महामन्त्रीहरूको विरोध गर्दै आएका छन् ।
महाधिवेशनको पूर्वतयारीअन्तर्गत विधान संशोधन, सदस्यता समस्या समाधानलगायत कामलाई प्राथमिकतासाथ अघि नबढाएको केन्द्रीय समितिलाई दबाब दिनुपर्ने युवा नेताहरूसमेत गुटगत राजनीतिमा बिलाएर महाधिवेशनको सुनिश्चितता नहुँदै महामन्त्रीको तयारीमा लाग्नुले पार्टीभित्र ठूलो अर्थ नराख्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले टिप्पणी गर्दै आएका छन्। समाचारपत्र