७ माघ २०८१, सोमबार | January 20, 2025

एमालेमा किन अट्न सकेनन् पुराना नेताहरू ?


January 20, 2025
166
Shares

काठमाडौं,७ सोमबार । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेमा अहिले पुराना नेताहरू खासै छैनन्। प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थानपना कालका अधिकांश सहकर्मी गुमाउँदै जानुभएको छ ।

ओलीसँग समझादारी कायम हुन नसकेपछि उहाँका राजनीतिक सहयात्रीहरू एकपछि अर्को गर्दै एमालेबाट बाहिरिएसँगै एमालेमा पुराना नेताहरूको संकट भएको हो। पुराना नेताहरू नहुँदा एमाले केही कमजोर बन्दै गएको विश्लेषकहरूको भनाइ छ।

राजनीतिक सहयात्रा र उमेरको हिसाबले एमालेमा ओलीपछि एक जना नेता ईश्वर पोखरेल हुनुहुन्छ। ओली र ईश्वरबाहेक एमालेमा पछिल्ला पुस्ताका नेताहरू जिम्मेवारीमा आइसकेका छन्। ओली अध्यक्ष भएपछि नेकपा एमालेका पुराना र लामो समयसम्म पार्टीमा योगदान गरेका केही नेताहरू टिक्न नसकेको एमालेबाट बहिर्गमित नेताहरूले जिकिर गर्दै आएका छन्।

संकटपूर्ण अवस्थामा एमाले बचाएका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीमरावल, अमृत बोहोरा, प्रदीप नेपालसहितका नेताहरू पार्टीमा नहुनुले ठूलो अर्थ राख्ने राजनीतिक विश्लेषकहरू बताउँछन्।

‘यिनै नेताहरूले एमाले बनाएका र बचाएका थिए’, वाम विश्लेषक लोककृष्ण भट्टराईले भन्नुभयो– ‘अहिलेको नेतृत्वले पुराना सहकर्मीलाई समेट्न सकेका छैनन् । केपी ओली अलि बरालिएको जस्तो देखिएको छ। यसले पार्टीमात्रै होइन कम्युनिस्ट आन्दोलन नै कमजोर हुँदै गएको छ ।’ पुराना सहयात्रीलाई समेट्न नसक्दा पछिल्लो समय ओलीका समर्थकहरूसमेत कमी हुँदै गएको भट्टराईको दाबी छ ।

पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका शीर्ष नेताहरू राधाकृष्ण मैनाली, सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अशोक राई, प्रदीप नेपाल, मोदनाथ प्रश्रित पौडेल, कमल कोइराला, डा। भीम रावल अहिले एमालेमा छैनन्। त्यस्तै, नयाँ पुस्ताका युवा नेताहरू घनश्याम भुसाल, रकम चेमजोङ, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, हरि पराजुली, बेदुराम भुसाल, जगन्नाथ खतिवडा, मेटमणि चौधरी, विजयकला राईलगायत दर्जनौं नेताहरूले छाडेपछि पार्टी केही कमजोर बन्न पुगेको विश्लेषकहरूको भनाइ छ ।

एमालेको नवौं महाधिवेशनपश्चात् पार्टी अध्यक्ष बन्नुभएका ओलीको पेलान खेप्न नसकेर दर्जनौं महत्वपूर्ण नेताहरूले पार्टी छाड्नुपरेको नेकपा एमालेका तत्कालीन उपमहासचिवसमेत रहेका प्रभावशाली नेता घनश्याम भुसाले बताउनुभयो।

‘केही पुराना नेताहरू पार्टी नेतृत्वमा ओलीको उदय नहुँदै पार्टीबाट अलग हुनुभएको थियो’, उहाँले भन्नुभयो– ‘तर पार्टीको मूल जिम्मेवारीमा ओली आएपछि एमाले कमजोर नै भयो । पार्टी निर्माणको कठिन अवस्थामा संगठन गरेका नेताहरूमाथि निरन्तर प्रतिशोध साँधियो। उहाँसँग प्रतिस्पर्धा गर्नेहरूलाई सधैं वैरी देख्नुभयो र नेताहरूको केही नचलेपछि नयाँ राजनीतिक बाटोतिर जान बाध्य हुनुभयो । यो ओलीको अहमताकै कारण थियो ।’

ओलीले आफूसँग १०औं महाधिवेशनमा अध्यक्ष लडेका नेता भीम रावललाई साधारण सदस्यबाट समेत हटाएपछि सो निर्णय आलोचित हुँदै आएको छ ।

२०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंमा भएको नवौं महाधिवेशनबाट माधव नेपाललाई पराजित गर्दै केपी ओली अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यस बेला ओलीले १०४७ मत पाउँदा नेपालले १००३ मत ल्याउनुभएको थियो । उक्त महाधिवेशनदेखि नै एमालेभित्र ठूलो खटपटी देखिएको थियो । अध्यक्षमा पराजित माधव नेपालको समूह शक्तिशाली नै थियो । यसकारण एमालेमा स्थायी दुई समूह कायम रहे । यो क्रम एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्दासम्म पनि कायमै रह्यो । पुराना नेताहरू आरके, सीपी, मोदनाथ, प्रदीप, कमल कोइरालालगायत नेताहरू अहिले राजनीतिमा निस्क्रिय रहेका छन् ।

कारबाही शृंखलाको निरन्तरता

पार्टी हितविपरीत काम गरेको आरोप लगाउँदै नेताहरूमाथि कारबाहीको डन्डा चलाउँदै आएको एमालेले कारबाहीलाई निरन्तरता दिएको छ । गत पुस १० मा तीन जना केन्द्रीय नेताहरूलाई कारबाही गरेको एमालेले पछिल्लो समय कोशी प्रदेश हुँदै सुदूरपश्चिम प्रदेशसम्मका नेताहरूमाथि कारबाही गरेको हो ।

एक महिनाको अवधिमा ६ जना नेतालाई गरेको कारबाहीले पार्टीका नेता कार्यकर्ताहरूमा तरङ्ग उत्पन्न भएको छ । एमाले केन्द्रीय सचिवालयले पुस १० गते पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल, स्थायी कमिटी सदस्य डा। बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको थियो।

त्यस्तै पार्टीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै कोशी प्रदेश सभाका पूर्व सांसद एवं उदयपुरका नेता विमल कार्कीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।

शनिवारमात्रै नेकपा एमाले जिल्ला कमिटी कैलालीले प्रदेश सदस्य कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ। ‘पछिल्ला दिनमा एमालेभित्र भइरहेका कारबाहीलाई हेर्दा बोल्न र लेख्नै नहुनेजस्तो देखियो’ –एमालेका एक केन्द्रीय सदस्यले भने ।

वामदेव भने एमालेमा फर्किंदै

एमालेकै पुराना नेता रहेका र एमाले छोडेर पार्टी एकता राष्ट्रिय अभियानको संयोजकको भूमिकामा रहेका नेता वामदेव गौतम भने अन्ततः एमाले नै फर्कने हुनुभएको छ। उहाँ एमालेका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ। पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता गौतमले दुई चरणमा कुराकानी गरिसक्नुभएको छ।

कुराकानी सकारात्मक भएको र छिटै एमालेसँग एकता गर्ने निष्कर्षमा गौतमलगायतका नेताहरू पुगेको कार्कीले जानकारी दिनुभयो । ‘अब हामी नअल्मलिने भयौं, एमालेमै जाने भयौं’ –कार्कीले भन्नुभयो। पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चारजना महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले भने पार्टी छाडेको नेता कार्कीले बताउनुभयो ।  समाचारपत्र

प्रतिक्रिया